प्रहरीको दुर्व्यवहारले स्वास्थ्यकर्मीको मनोबल खस्किएको भन्दै मानव अधिकार आयोगद्वारा चिन्ता व्यक्त
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार १८:५४
२१२३
काठमाडौं । लकडाउन पालना गराउने नाममा भएको कुटपिटले स्वास्थ्यकर्मीको मनोबल गिर्ने अवस्था सिर्जना भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।
गत बुधबार ड्युटी सकेर फर्किँदै गरेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकद्धय डा. शम्भु खनाल, डा. तेजप्रकाश शर्मा र डा. विकास शाहमाथि प्रहरीले कुटपिट गरेको थियो । घटनालगत्तै विभिन्न पेसागत संगठनसँग मिलेर अनुगमन गरेको आयोगले चिकित्सकमाथि दुर्व्यवहार भएको निष्कर्ष निकालेको हो ।
सुनसरीमा पनि स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट भएको थियो । आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रहरीका एकपछि अर्का यस्ता हर्कतले स्वास्थ्यकर्मीको मनोबल खस्किने अवस्था सिर्जना भएको र कार्यशैली सुधार्न प्रहरीलाई आग्रह गरिएको छ।
औषधि खरिददेखि अन्य अत्यावश्यक प्रयोजनका लागि घरबाट निस्किएका सप्तरी, दार्चुला, बैतडीलगायतका सर्वसाधारणमाथि पनि प्रहरीद्वारा दुर्व्यवहार भएको छ।