राजविराज|}कोरोना महामारीको त्रासले लकडाउन गरिएका बेला लागु औषध र मदिरा कारोबारी भने लकडाउनको मौकामा सक्रिय भएका छन्। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सीमा नाका बन्द र मुलुक लकडाउनमा रहेका बेला अवैध लागुऔषध र मदिरा कारोबारीहरु झनै सल्बलाएका हुन्।
बिहीबार अत्यावश्यक भन्दै मदिरा ओसारिरहेका सप्तरीको महादेवा गाँउपालिका-१ का ३२ वर्षीय श्रवण मण्डल राजविराज-६ बाट पक्राउ परेका छन्। खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि मण्डल पक्राउ परेको डिएसपी तिलक भारतीले बताए।
डीएसपी भारतीका अनुसार चालक मण्डल बिल भरपाईबिना अवैध मदिरासहित प्रदेश २-०१-००१ त ०५२८ नम्बरको ट्रयाक्टरमा राजविराजबाट दक्षिणतर्फ लैजाँदै गरेका बेला पक्राउ परेका हुन्। उनले प्रहरीलाई अति आवश्यक खाद्यान्न ढाँटेका थिए। शंका लागेर लागि चेकजाँच गर्दा दिलेवाले नामक मदिरा ९० कार्टुन, एम्बिसन नामक मदिरा २० कार्टुन र गोल्डहली नामक मदिरा ६ कार्टुन बरामद भएको प्रहरीले जनाएको छ।
अघिल्लो दिन मात्र बोदे बरसाईन नगरपालिका-९ स्थित स्वर्णपट्टि नाकामा भारतीय बजार लौकहीबाट लागुऔषध खरिद गरेर ल्याउँदै गरेका खडक नगरपालिका-९ का १९ वर्षीय मो. आदिजलाई प्रहरीले पक्राउ गरेको थियो। सशस्त्र प्रहरी बल, नेपाल वोर्डर आउट पोष्ट सुभरनपट्टीका प्रमुख हिमाल केसी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट कोरेक्स तीन बोतल र नाइट्रोभेट ट्याब्लेट ३० थान बरामद भएको छ। भारतीय सीमानाका सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ हाटीमा भारतबाट को.४ प ४३६८ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको लागु औषधसहित सप्तरीको विष्णुपुर गाउँपालिका ५ परसाहीका ४५ वर्षीय जोगिन्द्र यादब गत शुक्रबार पक्राउ परेका थिए।
एकसता अघि हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज नजिकबाट लागु औषधसहित तीन वटा मोटरसाइकमा आइरहेका सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकाका चार जना युवा लागु औषधसहित पक्राउ परेका थिए। भारत बिहारमा मदिरा प्रतिबन्ध भएपछि कमसल मदिराहरु नेपालबाट भारततर्फ र लागु औषधहरु भारतबाट नेपालतर्फ ओसारपसार हुने गरेको सीमानाका छिन्नमस्ता गाउँपालिका-४ लालापट्टीका धनन्जय यादव बताउँछन्।
लकडाउनको समयमा प्रहरी र सशस्त्र प्रहरीले जनशक्ति थप गरी सीमा क्षेत्रमा कडाई गरे पनि चोरबाटो प्रयोग गरेर अवैध लागु औषध र मदिरा ओसार्ने कार्य भइरहेकोले कोरोना संक्रमणको जोखिम समेत बढेको स्थानीयबासीको गुनासो छ।