कांग्रेसको आक्रोशः कोरोनाले मात्रै होइन, भोकले पनि नागरिकको ज्यान जान सक्छ
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार १५:४८
२७१७
काठमाडौं । नेपाली कांग्रेसले लकडाउनबाट सिर्जित समस्याले काठमाडौंबाट हिँडेर गन्तव्यतर्फ लागेकाहरुको विकराल अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेसले पैदल यात्रामार्फत् घर जानेहरु हनिमुन र पिकनिकका लागि काठमाडौं छाडेको नभई बाध्यताले भौतारिएकाले उनीहरुको समस्याप्रति गम्भीर हुन सरकालाई आग्रह गरेको छ।
फेसबुक लाइभमार्फत् गरिएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आर्थिक क्षमताले नधानकै श्रमिक बाहिरिएको बताउनुभयो। नागरिकको मृत्यु कोरोनाले मात्रै नभएर भोकले पनि हुने तथ्य शर्माले सरकारलाई चेतावनी शैलीमा सचेत गराउनुभयो। भयावह अवस्था सिर्जना हुनसक्ने आंकलन गर्दै उनले सचेत हुन सरकारलाई अनुरोध गर्नुभयो।
भोकले कोहि मर्न पर्दैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीलाई स्मरण गर्दै शर्माले मजदुरहरु भोककै कारण बाहिरिएको दृष्टान्त सुनाउनुभयो। भोकभोकै हिडिरहेका नागरिकको पीडाले विस्फोटको रुप लिनसक्ने तर्फ उहाँले सचेत गराउनुभयो। संकटको समयमा प्रतिपक्ष कांग्रेस सरकारलाई सहयोग र्पुयाउन साथमै रहने प्रतिबद्धता पनि शर्माले जनाउनुभयो।
संकटको समयमा देखिएका मजदुरका पीडाप्रति सरकारलाई संवेदनशील बनाउन घच्चघचाइरहेन उहाँको भनाइ छ। लकडाउन लम्बिएसँगै श्रमिकको आयआर्जनको बाटो रोकिएको बताउँदै प्रवक्ता शर्माले श्रमिकका समस्या सम्बोधन गर्न सरकार चुकेको टिप्पणी गर्नुभयो।