पैदलयात्रीप्रति आपुर्ति मन्त्री भट्टको गैरजिम्मेबार टिप्पणी र झुट्टा आश्वासन
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार ०९:१५
२७९७
बीरगन्ज | पैदल यात्रा मार्फत् आफ्नो घर तर्फ जाँदै गरेका पिडित नागरिकप्रति उद्योग तथा आपुर्ति मन्त्रीलेखराज भट्टले गैरजिम्मेबार अभिव्यक्ति दिनुभएको छ । उहाँले चोर बाटोबाट सडकमा देखिने सरकारले केही गर्न नसक्ने भन्दै गैरजिम्मेबार अभिव्यक्ति दिनुभएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा उहाँले जानकारी नै नदिई हिडेपछि समस्या पर्नु स्वभाविक भएको टिप्पणी गर्नुभयो ।
आपुर्ति मन्त्री भट्टले भन्नुभयो, “जानकारी आउनु पर्यो नी, तथ्यांकहरु हुनु पर्यो नी, हामीलाई थाहा नै छैन, अनि हामीले केही गर्न सकिदैन ।” पैदल यात्रा मार्फत घर जानुलाई उहाँले चोरबाटोबाट गएको भन्दै जानेहरुप्रति सहानुभूती र जिम्मेबारी समेत व्यक्त गर्नु सक्नु भएन । मन्त्री भट्टले आ आफ्नै सुरले हिड्नुलाई गलत भएको बताउदै जानकारी दिएर मात्रै हिड्न सुझाव दिनुभयो । बाध्यताले सकसका साथ लामो दूरीको यात्रा तय गरेका पैदल यात्रुलाई सरकारले सहयोग र सहजिकरण गर्नु पर्ने आवाज सर्वत्र उठिरहेका बेला सम्वन्धीत मन्त्रीले भने जानकारी नभएको र त्यसरी हिड्नु गलत भएको टिप्पणी गर्नुभएको छ ।
उहाँले सरकारलाई सुझाव दिनेहरुप्रति पनि नकारात्मक टिप्पणी गर्नुभयो । कोठामा बसेर केही नगर्ने तर आलोचना मात्रै गर्ने भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।
उहाँले अन्तर्वार्ताका क्रममा झुटा र अपत्यारित आश्वासन पनि दिनुभयो । सरकारसँग सम्पर्कमा आउने सवैलाई खाना र बस्नको व्यवस्था गरिएको दावी पनि उहाँले गर्नुभयो । साथै सडकमा अल्पत्र परेकाहरुलाई सम्पर्कमा आएमा संवन्धीत ठाउँमा पु¥याउने व्यवस्था गरिने आश्वासन पनि उहाँले दिनुभयो ।
मन्त्री भट्टले भन्नुभयो, “खवर गर्नेलाई हामीले घर लैजाने व्यवस्था गर्छाैं, अपाङ्गता भएका सवैलाई खवर गर्नासाथ राहत उपलब्ध गराउछौँ ।” मन्त्रीको यो भनाई प्रति धेरैले अविश्वास व्यक्त गर्दै झुट्टा आश्वासन मात्रै भएको टिप्पणी गरेका छन् ।