सर्वसाधारणमाथि गृह कडा : अनुमति बिना एक जिल्लाबाट अर्को जिल्ला जान रोक
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार २२:५४
२८६९
काठमाडौं | गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ ।
गृहको यस्तो निर्णयसँगै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट घर फर्किन हिँडेका सर्वसाधारण थप समस्या पर्ने भएका छन् ।
गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेको छ ।
मुलुकमा कोरोनाभाइरस (कोभिड–१९)का संक्रमण बढ्दै गएपछि गृहले यस्तो निर्णय गर्दै हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान सर्वसाधारणलाई अपिल गरेको छ ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार लकडाउन अवधिभर सर्वसाधारणलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने गरी सुरक्षा व्यवस्था मिलाउन प्र्शासन र सुरक्षा निकायलाई परिपत्र गरिएको हो ।
सुरक्षा निकाय, दुवै प्रहरी संगठन र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर मानिस आवतजावत कडाइका साथ नियन्त्रण गर्न निर्देशन गरिएको प्रवक्ता शर्माले बताए ।
निर्देशन अवज्ञा गरेर हिँड्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिने उनले स्पष्ट पारे ।