कक्षा १०, ११ र १२ को परीक्षा लकडाउन खुलेको तीन सातापछि
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार १८:१८
२८१३
काठमाडौं । सरकारको अहिलेसम्मको तयारी हेर्दा ढिलो चाँडो परीक्षा गर्ने नै देखिन्छ । परीक्षा गर्नुको विकल्प पनि छैन । परीक्षा कहिले र कसरी गर्ने भन्ने विषयमा राय दिन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वमा कार्यदल नै बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयको अहिलेसम्मको तयारी भने लकडाउन खुलेको तीन सातापछि एसईई परीक्षा सञ्चालन गर्ने रहेको स्रोतले बताएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले बुधबार मात्रै ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र लेखेको छ । पत्रमा दैनिक जनजीवन सामान्य भएपछि परीक्षा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको भन्दै आफ्नो जिल्लाका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु सामान्यतया घरबाट आते–जाते गर्न सक्ने र सुरक्षाको व्यवस्था भएको नजिकको अर्को विद्यालयमा गएर परीक्षा दिने व्यवस्था गर्न कतिवटा परीक्षा केन्द्र थप चाहिन्छ भन्ने कुरा तीन दिनभित्र जानकारी गराउन भनिएको छ । यो पत्रअनुसार परीक्षा नियन्त्रण कार्यालयको तयारी अहिलेसम्म नजिकको विद्यालयमा परीक्षा केन्द्र बनाउने देखिन्छ ।
शिक्षा मन्त्रालयले स्थगित भएको कक्षा ११ र १२ को परीक्षा पनि कहिले गर्ने भनेर पनि गृहकार्य सुरु गरेको छ । मन्त्रालय स्रोतकाअनुसार ११ को परीक्षा पनि एसईई जस्तै लकडाउन खुलेको तीन सातापछि गर्न छलफल भइरहेको छ भने १२ को लकडाउन खुले लगत्तै तालिका निकाल्ने भनिएको छ । निजी विद्यालय सञ्चालकहरुले भने लकडाउन खुलेको १५ दिनमा १२ र एक महिनामा ११ को परीक्षा गर्न सकिने राय दिएको छ । कक्षा ११ को कतिपय कोष पनि पुरा नभएकाले समय लाग्ने उनीहरुको तर्क छ ।