दार्चुला | शैल्यशिखर नगरपालिका- ६ तिखाधारमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मंगलबार राति चट्याङ लागेर ७ वर्षीया लक्ष्मी खातीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार खातीको घटनास्थलमै मृत्यु भएको र सँगै रहेका अन्य ४ जना घाइते भएको जनाएको छ। भद्रसिंह खातीको घरमा राति ८ बजे चट्याङ लागेको थियो। चट्याङ लागेर उनीसँगै रहेका छोरी लक्ष्मीको घटनास्थलमै र पत्नी सीता खाती, छोरा राजेन्द्र खाती र अस्मिता खाती समान्य घाइते भएको जिप्रका दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए ।
घाइते चारै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। चट्याङ लागेर भद्रसिंहको एक गाई र गाईको बाच्छो, १ गोरू र अमर खातिको घरमा भैंसी मरेको छ। पीडितको घरमासमेत क्षति भएको छ। नजिकैको किडे पातलमा चट्याङ लागेर कैले ठगुन्नाको एक गाई पनि मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।