मोरङका विभिन्न क्वारेन्टाइनमा बसेका सय जना घर फर्किए
वीरगंज संजाल
३ बैशाख २०७७, बुधबार १५:२९
८४८९
विराटनगर | मोरङका विभिन्न स्थानमा राखिएका क्वारेन्टाइनमा बसेका सयजना घर फिर्ता भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सम्भावित बिरामीलाई राख्न जिल्लाका ६ स्थानमा क्वारेन्टाइन केन्द्र छन् । तिनमा रहेका १ सय ७६ जनामध्ये सय जना घर फर्केको मोरङ प्रहरीले जनाएको छ ।
क्वारेन्टाइनमा बस्नेहरुमा संक्रमणको लक्षण नदेखिएपछि घर फिर्ता गरिएको हो । प्रदेश १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पतालमा कोरोना संक्रमण भए, नभएको परीक्षण गर्ने गरिएको छ । यसबाहेक विभिन्न स्थानमा र्यापिड टेस्ट विधिमार्फत् पनि प्रारम्भिक परीक्षण भइरहेको छ ।
मोरङको टाँडीस्थित आर्मी क्याम्पसमा रहेका १ सय ५१ मध्ये ९७ जना फिर्ता भएका छन् । यसैगरी घिनाघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको क्वारेन्टाइनमा बसेका ११ जनामध्ये ३ जना घर गएका छन् ।
जहदास्थित दुर्गा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा दुई जना बस्दै आएका छन् । यसैगरी धनपालथानको स्वास्थ्य चौकीमा एक, सुनबर्षी प्राथमिक स्वास्थ्य केन्द्रमा ८ र रंगेलीस्थित अस्प्तालमा ३ जना बस्दै आएका छन् । सबै क्वारेन्टाइनमा गरी २ सय ४८ शय्या राखिएको छ ।
मोरङका विभिन्न ५ स्थानमा ९६ शय्या रहेको आइसोलेसन केन्द्र छन् । तीमध्ये कोसी अस्पतालमा आइसोलेसनमा राखिएका १२ जनामध्ये ११ जना घर फर्केका छन् । उनीहरुको स्वाब नमुना परीक्षणमा संक्रमण नदेखिएपछि घर फर्काइएको प्रहरीले जनाएको छ । त्यहाँ अब एकजना मात्र छन् । उनी चिकित्सकको रेखदेखमा बसिरहेका छन् ।
यसैगरी गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा बसेका तीनै जना फिर्ता भएका छन् । तीबाहेक विराटनगरस्थित नेसनल ट्रेडिङमा ५०, ग्रामथानस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १८, पथरी अस्पतालमा ८ शय्याको आइसोलेसन राखिएको छ । त्यहाँ हालसम्म कसैलाई पनि आइसोलेसनमा नराखिएको जनाइएको छ ।
मोरङ प्रहरीका अनुसार मोरङका विभिन्न स्थानका गरी ८३ हजार १ सय १२ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । उनीहरुलाई करिब तीन लाख किलो चामल, १ लाख ७३ हजार किलो दाल, आलु, नुन, तेल, दूधलगायत सामग्री वितरण गरिएको प्रहरीले जनाएको छ ।