कञ्चनपुर | कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण बढ्न थालेपछि कञ्चनपुर जिल्ला सिल गरिएको छ ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्न थालेपछि कञ्चनपुरको सीमा क्षेत्र सिल गरेको सशस्त्र प्रहरीले जिल्ला पनि सिल गरेको हो ।
कञ्चनपुर प्रवेश नाका कृष्णपुर नगरपालिका ६ को गुलरिया र पुनर्वास नगरपालिका ११ डोकेबजार क्षेत्रबाट जिल्ला प्रवेश र बाहिरिन सशस्त्र प्रहरीले दिएको छैन ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले लकडाउनको नीति अनुरुप जिल्ला प्रवेशमा पनि रोक लगाएको बताए ।
यस्तै अन्य जिल्लाबाट कञ्चनपुर प्रवेश गर्ने मुख्य दुई नाका गुलरिया र डोकेबजारमा २४ सै घण्टा सशस्त्र प्रहरी तैनाथ अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
जिल्ला प्रवेश गर्न नदिएपछि कोरोना संक्रमणको जोखिम न्यूनिकरण हुने अनुमान गरिएको छ भने भारतसँग सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरीले थप २ सय २० जनशक्ति परिचालन गरेर कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।