३४ भारतीय नागरिक लिएर दिल्ली उड्यो नेपाल एयरलाइन्स
वीरगंज संजाल
२ बैशाख २०७७, मंगलवार १५:२३
३९३९
काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाजले ३४ भारतीय नागरिक लिएर नयाँ दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका भारतीय नागरिकलाई लिएर नयाँ दिल्ली गन्तव्यमा उडान भरेको निगमले जनाएको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दिउँसो नयाँ दिल्ली गएको जहाज आज साँझ ५ः०० बजे स्वदेश फर्कने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । निगमको वाइड बडी जहाजले चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा कार्गो उडान गर्ने तयारी गरिरहेको छ । यसअघि चैत २८ गते ग्वाङ्जाओ उड्ने कार्यतालिका रहे पनि अन्तिम समयमा आएर उडान स्थगन गरिएको थियो । चीनबाट मेडिकल सामग्री ल्याउन व्यवसायीले वाइड बडी जहाज चार्टर्ड गरेका थिए । अन्तिम समयमा व्यवसायिकै कारण निगमले उडान रोक्नुपरेको थियो ।
लकडाउनको अवधिमा निगमको अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । सबैभन्दा बढी उडान गर्ने कतार एयरवेजको १० उडानपछि निगम दोस्रो स्थानमा छ । निगमले यो अवधिमा पाँच वटा अन्तरराष्ट्रिय उडान भरेको छ । यीमध्ये दुई तीन उद्धार उडान र दुई कार्गो उडान हुन् । निगमको वाइड बढीले चैत १६ गते चीनको ग्वाङ्जाओबाट कोडिभ–१९ को १३ हजार केजी मेडिकल सामग्री ल्याएको थियो । त्यस्तै चैत २० गते कोडिभ–१९ को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको वाइड बडी जहाज ग्वाङ्जाओ उडउडेको थियो ।
त्यसैगरी चैत १९ गते निगमको वाइड बडी जहाज चार्टर्ड उडानमार्फत अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुँदै अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको थियो । चैत २८ गते पनि निगमको वाइड बडी जहाजले जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा सिधा उडान भरेको थियो । जापान सरकारले निगमको वाइड बडी चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश लगेको थियो । वाइड बडी ए–३३० दुई र न्यारोबडी ए—३२० सिरिजको दुई थान जहाजबाट निगमले भारतका तीनसहित नौ गन्तब्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।