पर्सा निकुञ्जमा तस्कर र सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहान, एक जनाको मृत्यु
वीरगंज संजाल
१४ चैत्र २०७६, शुक्रबार १८:१८
२७८७
पर्सा | पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको छ ।
गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको मृत्यु भएको छ । घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् ।
निकुञ्जको मुख्य क्षेत्रमा करिब ११ जनाको समूहले सुरक्षाकर्मीलाई देखेपछि फायरिङ्ग गरेको र त्यसको जवाफमा सुरक्षाकर्मीले गोली चलाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
श्रेष्ठका अनुसार बिहान करिब साढे ९ बजेको समयमा वन्यजन्तु चोरी शिकारी समूहले गोली चलाएपछि त्यसको जवाफमा फायरिङ्ग गर्दा परिचय खुल्न नसकेका एक व्यक्तिको मृत्यु भएको हो ।
श्रेष्ठले भने, ‘नियमित गस्तीको क्रममा निकुञ्जको मूल क्षेत्रमा फायिरङ्गको आवाज आएपछि निकुञ्ज सुरक्षार्थ खटिएको सुरक्षा गस्ती टोली त्यसतर्फ गएको थियो । सेनाको गस्ती टोलीलाई देख्ने बित्तिकै चोरी शिकारी समूहले गोली चलाएको थियो । जसमा जमदार छन्त्याल घाइते भएका छन् । शिकारी समूहका एक जनाको मृत्यु भएको छ । अन्य व्यक्तिहरु भने बन्दोबस्तीसहितको हतियारहरु छाडेर फरार भएका छन् ।’
निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षा गस्ती टोलीले मकवानपुरका मोहनसिंह दोङ्गलाई पक्राउ गरेको उनले बताए । घटना स्थलबाट सुरक्षाकर्मीले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरु समेत बरामद गरेको उनले बताए ।