मुस्कानमाथी एसिड प्रहार गर्ने मियाँ साधारण तारेखमा रिहा
वीरगंज संजाल
१४ चैत्र २०७६, शुक्रबार ०१:२५
३०३७
वीरगञ्ज | वीरगञ्जकी मुस्कान खातुनमाथी तेजाब प्रहार गर्ने अभियुक्तमध्येका एक समसाद मियाँलाई जिल्ला अदालत, पर्साले साधारण तारेखमा रिहा गरेको छ। वैशाख १४ गते पुनः अदालतमा हाजिरी हुने गरी समसादकी आमा हसिना खातुनले सहीछाप गरी बुझेर रिहा गराएका हुन्।
ज्यान मार्ने उद्योग तथा तेजाव छर्की कुरुप पारेको मुद्दामा बाल सुधार गृहमा रहेका आरोपी मियाँलाई जिल्ला अदालत पर्साले बोलाएको समयमा उपस्थित हुने गर हाजिरमा परिवारको जिम्मा लगाएको अदालतका स्रोतले जानकारी दिएको छ।
मजिद मियाँको विषयमा छोड्ने कि नछोड्ने विषयमा बहस भइरहेको स्रोतले बताएको छ। सर्वोच्च अदालतको चैत ७ गतेको पूर्ण बैठकले कोरोना सङ्क्रमितको विपद् व्यवस्थापनको लागि अदालतले अपनाउनुपर्ने सतर्कता अनुरुप बाल गृहमा रहेका विचाराधीन मुद्दा र सजाय खेपिरहेका बालबालिकाहरुलाई मुद्दा फैसला नगरी आपतकालीन अवस्थामा परिवारको जिम्मा लगाउनुपर्ने निर्देशन अनुसार समसादलाई अदालतले तारेखमा थुनामुक्त गरेको हो। यता पीडित बालिका खातुन अहिले पनि उपचारको क्रममा काठमाडौंमा रहेको बेला अभियुक्त छोड्नु गलत भएको नगरवासीको टिप्पणी छ। साभार : ब्रेकएनलिंक्स