अवैध भट्टी नष्ट गर्ने अभियानमा धनुषा प्रहरी, ७ जना नियन्त्रणमा
वीरगंज संजाल
३ चैत्र २०७६, सोमबार ११:१६
४३३१
जनकपुरधाम । धनुषामा घरेलु विषाक्त मदिरा सेवन गरेर मृत्यु हुनेकाे संख्या बढ्दै गएपछि यतिबेला धनुषा प्रहरीले अवैध घरेलु मदिरा, कच्चा पदार्थ तथा भट्टीहरु नष्ट गर्ने अभियान अगाडि बढाएको छ । आईतबार मात्र जिल्ला प्रहरी कार्यालय तथा कार्यालय मातहत समेतबाट खटिगएका प्रहरी टोलीहरुले धनुषाका विभिन्न स्थानहरुमा छापा मारेर अवैध घरेलु मदिरा, सोको कच्चा पदार्थ , माटोको भाडाहरु समेत नियन्त्रणमा लिई नष्ट गरेको छ ।
प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने मेसिन, पलाष्टिकका भाँडाकुडा समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएकाे छ ।धनुषाका विभिन्न स्थानमा सञ्चालित घरेलु मदिरा बनाउने १२ भट्टी प्रहरीले नष्ट गरेको छ । मदिरा बनाउन चाहिने ४ हजार ९५० लिटर कच्चा पदार्थ पनि नष्ट गरेको छ । त्यस क्रममा ३०० केजी सखर पनि नियन्त्रणमा लिएको धनुषा प्रहरी प्रमुख रमेश कुमार बश्नेतले न्यूज २४ लाई जानकारी दिए ।
त्यस्तै तयारी मदिरा- ३३५ लिटर नियन्त्रणमा लिइएकाे छ भने १ हजार १०० लिटर नष्ट गरिएको छ । घरेलु मदिरा बनाउने सानो मेशिन २ थान, प्लाष्टिक, तामा, सिलबर, माटोका भाडाकुडाहरु पनि ६२ थाल नष्ट गरेकाे जनाइएकाे छ । यसैगरी २४ थान प्लाष्टिक, तामा, सिलबरका भाडाकुडाहरु नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।मदिरा उत्पादन र बिक्री-वितरणमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको धनुषा प्रहरीले बताएको छ ।