काठमाडौं | विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु भएको छ। यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९ पुगेको त्यहाँको नागरिक संरक्षण प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार कोरोना संक्रमित संख्या २४ हजार ७ सय ४७ पुगेको अल जजिराले जनाएको छ।
त्यसैगरी इरानमा कोरोनाबाट पछिल्लो २४ घण्टामा सय भन्दा बढीको मृत्यु भएको छ भने मर्नेको संख्या ७ सय २४ जना पुगेको छ। १४ हजार संक्रमित छन्।
स्पेनमा २ हजार नयाँ संक्रमित थपिएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट मर्नेको संख्या ६ हजार नाघेको छ भने १ लाख ५३ हजार भन्दा बढी संक्रमित छन्। १ सय ४१ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यसको संक्रमण रोक्न विश्वका अधिकांश राष्ट्रले आवागमनमा प्रतिबन्ध लगाएका छन्।