कोरोनाको सही सूचना दिने सरकारको आधिकारिक निकाय खै ?
वीरगंज संजाल
२७ फाल्गुन २०७६, मंगलवार १९:१९
३६७७
व्यापार व्यवसाय र विकास निर्माणको काममा असर परे पनि नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण फैलिएको छैन । चीनको वुहानबाट उद्धार गरेर ल्याइएका नेपाली र अरु शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा सबैको ‘नेगेटिभ’ भेटिएको छ । यसअघि सङ्क्रमित देखिएका एक जना निको भएर फर्किसकेका छन् । विदेशमा रहेका नेपालीलाई पनि अहिलेसम्म काेभिड–नाइन्टिनकाे सङ्क्रमण भएको आधिकारिक जानकारी छैन ।छिमेकी देश चीनबाट सुरु भएर खाडी, अमेरिका, युरोप, अस्ट्रेलिया हुँदै अर्को छिमेकी देश भारतसम्म फैलिँदासमेत नेपालमा कोरोनाको सङ्क्रमण नदेखिनु आफैमा सुखद पक्ष हो । तर दुःख र चिन्ताको कुरा, कोरोना सङ्क्रमणभन्दा धेरै डर, त्रास र भ्रम कोरोनाकै नाममा फैलिएको छ । नागरिकलाई सचेत र सजग बनाउने नाममा सरकारी निकायहरु नै जथाभाबी सूचना र निर्देशन दिएर डर, त्रास र भ्रम फैलाउँदैछन् ।
भ्रमित सूचनाको कुरा गर्न शिक्षा मन्त्रालयको निर्देशन नै काफी छ । मन्त्रालयले सबै विद्यालयलाई निर्देशन दिँदै कोरोनाको सङ्क्रमणबाट बच्न शिक्षक र विद्यार्थीबीच निरन्तर छलफल गर्नु र गराउनु भनेको छ । साथै सकेसम्म भिडभाड भएको ठाउँमा नजानु पनि भनेको छ । त्यसो भए कोरोनाको सङ्क्रमणबाट बच्न शिक्षक र विद्यार्थीबीच कक्षा कोठामा हुने छलफललाई भिड मान्ने कि नमान्ने ? कतिसम्मलाई भिड मान्ने ? कक्षाकोठामा छलफल गर पनि भन्ने, भिडभाडमा नजाऊ पनि भन्ने ? शिक्षक र विद्यार्थीले यस्ता भ्रमपूर्ण निर्देशनबाट के निष्कर्ष निकाल्ने ?
यो त भ्रम र अन्योलको कुरा भयो । आम नागरिकलाई त्रस्त पार्न चाहिँ जिल्ला प्रशासन कार्यालय र पालिकाहरुबीच नै होड चलेको देखिन्छ । सबैभन्दा पहिले जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कोरोना सङ्क्रमणको डर देखाउँदै होली नखेल्न भन्यो । उसको सिको गर्दै अरु प्रशासन कार्यालयले पनि यसैगरी सूचना प्रकाशित गरे । कतिपय पालिकाले चाहिँ कोरोनाको जोखिमबाट बच्न जडीबुटी र बेसार पानी खान भने । कतिपयले घरबाटै ननिस्कन भनिरहेका छन् । तर कतिपय पालिकाको अगुवाइमा कोरोना रोकथाम गर्ने प्रचारप्रसारको नाममा जुलस जात्रा पनि निस्किरहेका छन् । अनि कोरोनाको सङ्क्रमणबाट बच्न डाक्टरैपिच्छे फरक–फरक सल्लाह सार्वजनिक भइरहेको छ । कोही भन्छन्, मास्क लगाउनुपर्छ । कोही भन्छन्, बिरामीले र उसलाई रेखदेख गर्नेले मात्र मास्क लगाए पुग्छ, अरुले लगाउन पर्दैन । अनि कसैको भनाइमा मास्कले सङ्क्रमण रोक्छ, कसैको भनाइमा मास्क लगाउनु र नलगाउनुमा केही फरक छैन ।
एउटा सरकारी निकाय भन्छ, भेला र जमघटमा सामेल नहुनू । अर्को सरकारी निकाय भन्छ, कोरोनाको सङ्क्रमणबाट बच्ने उपायबारे आपसमा भेला भएर छलफल चलाउनू । सरकारी निकायकै यस्ता परस्पर विरोधी निर्देशन र सूचनाले नागरिकलाई भ्रमित र त्रसित बनाइरहेको छ । अनि कोरोनाको सङ्क्रमण नै फैलिए झैँ गरी प्रचारप्रसार भइरहेको छ ।सङ्कट र विपद्को अवस्थामा राज्यको सूचना प्रणाली र निर्देशनको आधिकारिक स्रोत एउटा हुनुपर्छ । अहिले राज्यका सबै अङ्ग, निकाय र जिम्मेवार पक्ष आ–आफ्नै ताल र ढङ्गमा चलेका छन् । जसको परिणाम नागरिकमा सचेतनाभन्दा बढी डर, त्रास र भ्रम फैलिएको छ ।
यही त्रासले कतिपय घरबाट निस्कन छाडेका छन् । कतिपय चाहिँ कोरोना फैलियो भने बजारमा हाहाकार हुन्छ भन्दै दाल, चामल र ग्यास तरकारी थुपार्न लागेका छन् । मौका यही हो भनेर कतिपय व्यापारी कृत्रिम अभाव र कालोबजारी गर्दैछन् । सरकारको जिम्मेवार एक निकायबाट आधिकारिक र सही सूचना तथा जानकारी दिनुको सट्टा सरकारी निकायबीच जथाभाबी हल्ला गर्ने होडले यस्तो भएको हो ।त्यसैले कोरोनाको जोखिम र पूर्वतयारीबारे जानकारी दिन सरकारको तर्फबाट एउटामात्र निकायले नेतृत्व लिनुपर्छ । उसले मात्र सही सूचना र निर्देशन दिनुपर्छ । त्यही सूचनालाई आधिकारिक मानेर तल्ला निकायले नागरिकसम्म पुर्याउनुपर्छ । यसो भयो भने मात्रै कोरोनाबारेको अनावश्यक डर, त्रास र भ्रमको अन्त्य हुन्छ ।