दाङ | तुलसीपुर-४ रक्षाचौरमा लगाएको ताला ६ दिनपछि खोलिएको छ। वडा कार्यालय अनेत्र सार्न लागेको भन्दै स्थानीयले त्यसको विरोध गर्दै आइतबारदेखि वडा कार्यालयमा ताला लगाएका थिए। आइतबारदेखि लागेको ताला आन्दोलनरत पक्ष र उपमहानगरपालिकाबीच सहमति भएपछि खुलेको हो। कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगीले ताला खोलेक हुन्।
उनले सबै वडाबासीलाई पायक पर्ने गरी वडा कार्यालय कहाँ राख्ने भन्नेबारेमा अध्ययन गरिने पनि समेत बताए। ‘हामीले कार्यदल बनाएका छौँ, यसले सबै कुराको अध्ययन गरेर नगरसभामा प्रतिवेदन पेश गर्ने छ’ उनले भने। वडा कार्यालय सार्ने कुरा नगरसभाको दुइतिहाई बहुमतले मात्रै निर्णय गर्न सक्ने भन्दै उनले कानुनी प्रक्रिया पूरा गरेर मात्रै सम्भव हुनेसमेत बताए। यसैबीच ताला खोल्नु अगाडि उपमहानगरपालिकामा वडाबासीसँग छलफल समेत गरिएको थियो। छलफलमा दुवै तर्फका वडाबासीको सहभागिता रहेको थियो। छलफलले दुईबुँदे सहमति गरेपछि ताला खोलिको हो।
वडा नम्वर ४ को केन्द्र स्थानान्तरणका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ वमोजिम प्रक्रिया अगाडि वढाउनका लागि राय र सुझाब संकलन गर्न परामर्श समिति बनाउने सहमति भएको छ। आगामी असार १५ गते नगरसभामा पेश गर्नका लागि सुशासन समिति संयोजक सुर्य बहादुर डाँगीको संयोजकत्वमा वडा नम्वर ४ का क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधि, ढुण्डिराज खनाल र गणेश गिरी सदस्य रहने गरी कार्यदल गठन गरिने भएको छ। जसको सदस्य सचिवमा वडा सचिव लोकमणी पोख्रेल रहनु हुनेछ।
त्यसैगरी, कार्यदलको प्रतिवेदन प्राप्त नहुँदासम्म विभिन्न समितिले वडा स्थानान्तरणका सन्दर्भमा पेश गरेका निवेदनमाथि कुनै कारवाही प्रक्रिया अगाडि नबढाउने सहमति भएको कार्यबाहक नगरप्रमुख डाँगी बताए। ताला खुलेपछि वडाध्यक्ष वालकृष्ण रानाले जनतालाई मान्य हुनेगरी वडा स्थानान्तरणको प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिए। उनले कार्यदललाई जनप्रतिनिधिको हिसाबले सघाउने समेत प्रतिबद्धता जनाए। वडा समितिले सबैलाई पायक पर्ने भन्दै वडा वनहरीमा वडा कार्यालय सार्ने निर्णय गरेपछि हाल वडा कार्यालय रहेको गणेशपुर र मजुवाका जनताले तालाबन्दी गरेका थिए।