अटोको ठक्करबाट घाइते भएका ४५ वर्षीय चौरसियाको मृत्यु
वीरगंज संजाल
१८ फाल्गुन २०७६, आईतवार १३:५८
४५६१
वीरगंज | वीरगंजमा अटोको ठक्करबाट घाइते एक व्यक्तिको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने अन्दाजी ४५ वर्षीय मनोजकुमार चौरसियाको मृत्यु भएको हो । वीरगञ्ज पानीट्याङ्की स्थित न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गत फागुन १४ गते बेलुका सवा ७ बजेतिर चौरसियालाई वीरगञ्ज–१६ नगवास्थित बाइपास सडक खण्डमा नम्बर नखुलेको अटो रिक्साले ठक्कर दिएको थियो । नारायणी अस्पतालमा उपचारपछि उनलाई थप उपचारका लागि न्युरो अस्पतालमा पठाइएको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न ना ३ स ४९३ नम्बरका मालबाहक अटोसहित बारा बिश्रामपुर गाउँपालिका–५ बरैनिया टोल बस्ने २८ बर्षिय बिनोद महतो कोइरी र २० वर्षीय कन्हैया महतो कोरीलाई पक्राउ गरिसकेको छ ।
उनीहरुलाई घटनाको दुई दिनपछि वीरगञ्ज महानगरपालिका–१६ नगवाबाटै नियन्त्रणमा लिएको थियो । उनीहरु विरुद्ध थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाईने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी विरेन्द्र शाहीले जानकारी दिए । Nepalpostdaily