भारत र फिलिपिन्समा पनि देखियो कोरोनाभाइरसको संक्रमण
वीरगंज संजाल
१७ माघ २०७६, शुक्रबार ०६:१८
४०१५
काठमाडौँ । नयाँ कोरोनाभाइरस देखा परेको झण्डै एक महिना पछि भारत र फिलिपिन्समा पनि यसको संक्रमण देखा परेको छ । विहीबार भारतको केरला राज्यमा एक जना भारतीय जो चीनको वुहानमा पढेर आएका विद्यार्थी हुन् उनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
यस्तै फिलिपिन्स पुगेकी एक जना चिनियाँ महिलामा पनि सो भाइरसको संक्रमण देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरु दुबैलाई अहिले अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ ।
भारतमा चीन अध्ययनमा गएका विद्यार्थीका अभिभावकले आफ्ना सन्तानहरुलाई उद्धार गरि ल्याउन सरकारलाई दवाव दिएका छन् । तर सरकारी अधिकारीहरुले अहिले उद्धार गर्नु उपयुक्त नहुने बताएका छन् । उनीहरुले आवश्यकता परे भाइरस संक्रमण नभएका विद्यार्थीहरुलाई स्वदेश ल्याउन सकिने तर त्यो गर्नु पूर्व चिनिया अधिकारीहरुसंगको सल्लाह लिइने बताए ।
उनीहरुले चीनबाट उद्धार गरि ल्याएपनि १५ दिन बढी क्वारेन्टाइनमा राखेर मात्रै घर पठाउने तयारी भएको जानकारी दिएका छन् । यसैबीच विहीबार नै भियतनाममा तीनवटा कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
अष्ट्रेलियामा आज आठौँ केश भेटिएको छ ।
चीन सहित अन्य देशमा अहिलेसम्म ७ हजार ७ सय बढी केश भेटिएको र १७० जनाको मृत्यु भइसकेको छ ।