बुढानिलकण्ठमा पैदलयात्रीलाई ठक्कर दिने कार चालकविरूद्ध अनुसन्धान जारी
वीरगंज संजाल
Dec 18, 2019, 12:25 pm
३९१२
शेयर
मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराउने गोठाटारका २१ वर्षीय पृथ्वी मल्ललाई प्रहरीले सवारी ज्यानमुद्दामा अनुसन्धान अघि बढाएको छ।
मदिरा सेवन गरी सवारी चलाएको देखिएपछि प्रहरीले मल्लविरूद्ध सवारी ज्यानमुद्दामा अनुसन्धान थालेको हो। शनिबार उनले चलाएको बा१४च ६१२३ नम्बरको कारले बुढानिलकण्ठ स्कुल गेटैमा ठक्कर दिँदा लीला देवकोटाको मृत्यु भएको थियो।
सोही दिन पक्राउ परेका मल्ललाई आइतबार सवारी ज्यानमुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।
सवारी ज्यान मुद्दामा पाँच वर्षसम्म सजाय हुन सक्ने कानुनी व्यवस्था छ।‘प्रारम्भिक अनुसन्धानमा मल्लले ‘ड्रिङ्स एन्ड ड्राइभ’ गरेको देखिन्छ।
अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा त्यही देखियो,’ लम्सालले सेतोपाटीसँग भने, ‘एक त मदिरा सेवन गरेर सवारी चलाउनु कानुनविपरीत हो, मदिरा सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएको देखिएकाले अनुसन्धान त्यसतर्फ केन्द्रित छ।’
शिवपुरी क्षेत्रमा मदिरा सेवन गरेर फर्किँदै गरेका मल्लले चलाएको कारले शनिबार बिहान देवकोटालाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि कार बिजुलीको पोलमा गएर ठोक्किएको थियो।
‘अर्को साइडतर्फ हिँडिरहेको मान्छेलाई ठक्कर दिएको देखिन्छ,’ लम्सालले भने।कारको ठक्करपछि गम्भीर घाइते देवकोटालाई आफन्तले न्युरो अस्पताल लिएर गए पनि अस्पताल नपुर्याउँदै उनको मृत्यु भएको थियो।
लम्सालका अनुसार चालक मल्लसहित कारभित्र रहेका अन्य तीन जनाले पनि मदिरा सेवन गरेका थिए। उनीहरू भने छुटेका छन्।मल्लले आफूलाई गल्फको राष्ट्रियस्तरको खेलाडी बताउने गरेका छन्। अमेरिकामा बस्दै आएका उनी एक साताअघि मात्रै काठमाडौं आएका थिए।
‘अमेरिकामा बसेर अध्ययन गरेको र आफू गल्फको राष्ट्रिय खेलाडी भएको उनले बताएका छन्,’ लम्सालले भने, ‘हामीले यसको आधिकारिकता पत्ता लगाइसकेका छैनौं।’सवारी ज्यानमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्छ। shetopati