विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्यनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाउँछ ।
विपरित लिङ्गि प्रति आकर्षित हुनु स्वभाविक हो तर आकर्षणको अर्थ हिंसा हैन । कर-बल हैन माया, तर्क हैन, भावना अनि शरीर हैन मन जित्नसक्ने पुस्ताको खाँचो छ, नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाहरुको विजारोपण गर्न जरुरी छ । शरीर हैन मन जित्ने कला सिकाउन जरुरी छ अनि नारी पुरुष सँगै हिंड्ने समान समाज आजको आवश्यक्ता हो ।
संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो ।
नारी पात्र अर्थात महिलाको भूमीका मानव जीवनको विकासक्रममा अभूतपूर्व छ, पूज्य छ । आमाको कोंखबाट शुरुहुने मान्छेको जिन्दगी क्रमशः दिदी-वहिनीको माया, श्रीमतीको साथ, समाजको सह-अस्तित्व हुँदै अगाडी बढ्दछ । शुरुमा मुखमा परेको दुधको धर्सो देखि लिटोको रूपमा परेको प्रथम गाँस, ‘कोखाई कोखाई’ गरेर खुवाउने, माया दिने तिनै नारी पात्र आमा नै हुन तर विडम्वना कस्तो छ भने संसारकै श्रृष्टि थेग्ने यिनै नारी पात्रहरु आजपनि संसारभरी नै हिंसाका शिकार भईरहेका छन् । आज यहि प्रकृतिका पर्याय अनि मानव सृजनाकी प्रतिमूर्ती नारी अर्थात् महिलाहरु प्रति हुने कुनैपनि हिंसा विरुद्धको दिवस हो ।
अझै पनि दिनँहुजसो पत्रपत्रिका, टिभी या रेडियोका समाचारहरुमा महिलामाथीको हिंसाका खबरहरु तारन्तार आउने गर्दछ । फलाना ठाँउमा दाईजो नल्याएको झोँकमा यसो भयो रे ? बोक्सीको आरोपमा यसो गरियो रे अनि बालिकामाथी जबरजस्ती यसो गरियो भन्ने समाचारहरुले मुटु चिर्दछ । नेपालमात्र नभई संसारका धेरै विकसित देशहरुमा पनि महिला हिंसा र असमानताका ध्वनीहरु सुनिन्छ ।
महिला विरुद्धको हिंसा नितान्त रुपमा मानव अधिकारको हनन हो, हामी सबै यसप्रति सजग रहन जरुरी छ । महिला विरुद्धको हिंसा लैगींक असमानताको उपज पनि हो र यसका विरुद्धमा कानुनहरुले सम्वोधन पनि नगरेका होइनन तथापि यो विकसित संसारमा अझैपनि कुनै न कुनै अवयवकारुपमा महिला हिंसा र लैङ्गिक असमानता कायमै छ ।आजको दिनले महिला विरुद्धको हिंसाका विरुद्ध समग्र विश्व समूदाय भेला भएर एैक्यवद्धता जनाउने गर्दछ ।
वैदिक सनातन हिन्दू अनि हाम्रो वैदिक परम्पराको व्यवहारीक नियममा हाम्रो समाज, अझ भनौ सिन्धु नदिको तटमा भएको यो शालिन सभ्यताले महिला पुरुष दुबैलाई समानता र आदर दिएको ईतिहासका पानाहरु साक्षी छन् । पूजिने देवीहरु, लक्ष्मीको पर्यायकारुपमा छोरी अनि बुहारीलाई मान्ने चलन, हरेक पूजा या यज्ञहरुमा आवश्यक पर्ने पञ्चकन्याहरु अनि कुमारी अर्थात जिवित देवीको चलन, यी सबै महिलाप्रतिको सम्मान र आदरका संस्कारहरु हुन् ।
हाम्रो समाजमा पनि छोरा र छोरीकाविचमा धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरु नै महिला विरुद्धको हिंसाको प्रारम्भ हुने कारण हो, जुन हाम्रो मष्तिश्कमा जरा गाडेर बसेको छ । छोरी होस् या छोरा समाज-परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला हिंसा विरूद्धको अभियान सफल हुनेवाला छैन ।
जसरी पार्वती विनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी विनाका विष्णु आधी छन्, राधा विनाका कृष्णको कथा रोमाञ्चक हुन्न, माता मरियम विनाका जिसस क्राईस्टको पौरख पूर्ण छैन, त्यसै गरि नारीको प्रेम र आत्मियता विना पुरुष र पुरुषको साथ र सम्मान विना महिला पूर्ण हुदैनन्, आउनुहोस् आज वाचा गरिदिउँ कि महिला हिंसाविरुद्धमा हामी सदैव सजग रहनेछौ । महिला सशक्तिकरणकालागि हिंसाको अन्त्य, जय होस् !