प्रस | व्यापारिक मार्ग विस्तार योजना कार्यालय (वीरगंज–पथलैया) मातहतमा निर्माण भइरहेको परवानीपुर–गण्डक क्षेत्रको सडक विस्तारको काममा ढिलाइ भइरहेको छ।सडक विस्तारको काममा ठेकेदार कम्पनी दिवा सपना जेभीले चरम लापरवाही गरेको स्थानीय बासिन्दाले बताएका छन्।
स्थानीयहरूका अनुसार सडक विस्तारमा ढिलाइ हुँदा दैनिक धूवाँ, धूलो, जाम तथा जोखिमपूर्ण यात्रा गर्नुपरेको बताएका छन्। केहीले सडक विस्तारको कामले गर्दा स्वास्थ्यमा प्रतिकूल असर परिरहेको अवस्थामा ठेकेदार कम्पनीले सुस्त गतिमा काम अघि बढाएको हुनाले सरोकारवाला निकायसँग कडाइ गर्न माग गरेका छन् ।परवानीपुरदेखि गण्डकसम्मको पहिलेको अवस्थामा गाडिएको विद्युत् पोलहरू अहिले पनि जहाँको त्यहीं छन्।
त्यस्तै, सडकको दुवै छेउमा बनाइने नालाको काम पनि पूरा नभएको र सडकको संरचनामा पनि माटो खन्ने, ग्रेभल भर्नेलगायतका काम तीव्र गतिमा भएको छैन। आगामी साउन मसान्तसम्म दुई वर्षको लागि करीब रु ३२ करोडमा ठेक्का भएको कम्पनीका इन्जिनीयर प्रकाश गौतमका अनुसार ठेकेदार कम्पनीले समयमा काम सकाउने लक्ष्य राखेको छ।
उनका अनुसार १५ दिनभित्र नेपाल विद्युत् प्राधिकरणको समन्वयमा विद्युत् पोल लाइन रोडको किनारमा सारेर सडक विस्तारको कामलाई तीव्रता दिने दाबी गरेका छन्। हाल भौतिक प्रगति ४२ प्रतिशत भइसकेको छ भने आर्थिक प्रगति ३५ प्रतिशत मात्र हुन सकेको ठेकेदार कम्पनीले जानकारी गराएको छ।