बर्दिया | जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएकाे गस्ती टाेलीले यहाँकाे गुलरिया नगरपालिका वडा नं ८ स्थित भन्सार राेडबाट ५८ किलाे लागूऔषध चरेससहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा दाङ घाेराहीका ३४ वर्षीया राजकुमार पुन मगर, २७ वर्षीया जुनतारा पुन, ३४ वर्षीया सुनथामी बुढामगर, २९ वर्षीया खिमप्रसाद राेक्का मगर र रूकुम उतरगंगा निवासी २६ वर्षीया अस्मिता रामजाली रहेका छन् ।
गुलरिया- ८ मा पर्ने भन्सार राेडबाट चेकजाँचका क्रममा शंकास्पद देखिएका कारण उनीहरूले बाेकेकाे झाेला खानतलासी गरिएकाे थियाे । खानतलासीका क्रममा उनीहरूबाट चरेस बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए ।
प्रहरी निरिक्षक ओलीले भने, ‘झाेला बाेकेर साँझ करिव ७ बजे उनीहरू भन्सार राेड हुँदै भारततर्फ लागिरहेकाे समयमा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।’ प्रहरी गस्ती टाेलीले ५ जनालाई पक्राउ गरेकाे भए पनि अन्य दुई जना भने भाग्न सफल भएका छन् ।
भागेका दुईमध्ये एकले झाेला बाेकेकाे कारण उनीहरूसँग पनि चरेस रहेकाे अनुमान गरिएकाे छ । ती दुई जनाकाे खाेजीका लागि बर्दियाकाे सम्पूर्ण नाकामा चेकजाँच कडा पारिएकाे छ भने जिल्ला प्रवेश गर्ने र बाहिरिने सवारीसाधनकाे समेत चेकजाँच कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।