नेपाली काङ्ग्रेस ठोरी पर्साले कालापानी ,लिपुलेक,लिम्पियाधुरा,सुस्ता लगायतका नेपाली भुमी अतिक्रमण गरि आफ्नो नक्सामा भारतले समावेश गरेको भन्दै नेपाली काङ्ग्रेस ठोरीले विरोध जनाएको छ।भारतीय पक्षले सिमा अतिक्रमण गरेर विस्तारवादी चरीत्र प्रदर्शन गरेको र नक्सामा समेत कालापानी ,लिपुलेक र लिम्पियाधुरा भारतमा पर्ने गरी समावेश गरेको भन्दै काङ्ग्रेसको ठोरी कार्यसमितिले खेद प्रकट गरेको छ ।ठोरी -३,ढुङ्गेबजारमा बसेको ठोरी काङ्ग्रेसका कार्यसमिति सदस्य एवम् अगुवा कार्यकर्ताहरुको भेलाले भारतको सिमा अतिक्रमण गर्ने कार्यको विरोध गर्दै यही भोली मिती कार्तिक ३० गते शनिबार मोटरसाइकल र्याली र विरोध सभा गर्ने निर्णय गरेको छ।शनिबार ठोरी -५ सुवर्णपुरदेखि ठोरी -२ को राइधारासम्म वृहत् मोटरसाइकल र्याली र राईधारामा विरोध सभा गर्ने निर्णय भएको नेपाली काङ्ग्रेस ठोरीले जनाएको छ।
ठोरी गाउँपालिकाको पनि भारतसंग सिमाना जोडिएको र भारतीय पक्षकै दबाबको कारण हालसम्म ठोरी -२,ठुटेखोलामा निर्माण भएको पुल हालसम्म सन्चालनमा नआएको लगायतका समस्यामाथि राज्यको ध्यानाकर्षण गर्न र भारतले एकपक्षीय ढंगले सिमाना मिचेको विरोधमा विरोध र्याली र सभा गर्ने निर्णय भएको मिलन श्रेष्ठले बताउनुभयो ।भारतले आफ्नो नक्सामा एकपक्षीय ढंगले नेपाली भुमि आफ्नो भन्दै समावेश गर्नु गम्भीर गल्ती भएको र आगामी दिनमा ठोरीलाई पनि त्यसले प्रभाव पार्ने देखिएकोले भेलामा सहभागीहरुले सरकार तत्काल यस बिषयमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।सरकारलाई सिमा विवाद समाधान गर्न ध्यानाकर्षण गर्ने र भारतको नेपाली भुमि मिच्ने प्रवृतिको विरोध गर्न विरोध र्याली र सभा गर्न लागिएको श्रेष्ठले प्रष्ट पार्नुभयो।
काङ्ग्रेस ठोरीका सभापति शम्भुराम पौडेलको अध्यक्षतामा बसेको अगुवा कार्यकर्ता सहितको भेलाले शनिबार हुने विरोध कार्यक्रममा पार्टीका जिल्ला सभापति सहित जिल्ला कार्यसमितिका पदाधिकारी र जिल्लाका प्रभावशाली नेताहरुलाई पनि आमन्त्रण गर्ने निर्णय गरेको छ।त्यस्तै सिमा विवाद राष्ट्रिय चासो र देशभक्त नेपालीका लागि असह्य विषय भएकोले शनिबार हुने विरोध र्याली र सभामा सहभागी हुन ठोरीका देशभक्त नागरिकहरुलाई सहभागि हुन अनुरोध गर्ने निर्णय समेत गरेको काङ्ग्रेसले जनाएको छ।