जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी जवान राजेश द्विवेदी कारवाहीमा परेका छन् । राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखाबाट चेक भन्दा बढी रकम लिएको अभियोगमा उनी कारवाहीमा परेका हुन् ।
बिहीबार दुई थान आफ्नै नामको चेक लिएर बैंक पुगेका द्विवेदीले बैंकको माथिल्लो तल्लामा चेक सदर गराई तल काउण्टरमा पैसा लिन गएको समयमा तीन हजार रुपैयाँको चेकलाई तीस हजार रुपैयाँ र चार हजार रुपैयाँको चेकलाई चालिस हजार बनाएर बैंकबाट ७० हजार ठगि गरेका थिए ।
बैंकमा बेलुका पैसाको हिसाव नमिलेपछि चेकहरु जाँचबुझ गर्दा द्विवेदीको चेकमा केरमेट गरिएको पाइएको राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखाका प्रबन्धक शिवशंकर यादवले बताए । बैंकले तत्कालै महोत्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई फोन मार्फत जानकारी गराएपछि उनीमाथि अनुसन्धान थालिएको थियो ।
महोत्तरीका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले ठगी गर्ने र गलत क्रियाकलाप गर्ने व्यक्ति प्रहरी हुन लायक नभएको भन्दै उनलाई तत्कालै कारवाही गरिएको र निलम्बन गर्ने बताए । द्विवेदी तीन वर्षदेखि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत छन् ।