भारतबाट चोरेर नेपालमा कारको कारोबार ! चार गाडीसहित समातिए दुई जना
वीरगंज संजाल
२९ कार्तिक २०७६, शुक्रबार १३:३३
५८११
काठमाडौं | प्रहरीले चोरीको गाडी बिक्री गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।बिहीवार राति महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौं काभ्रेस्थलीका दीपेन्द्र भन्ने दीपकबहादुर बुढा र गोरखा सुलिकोट गाँउपालिकाका मुकुन्दप्रसाद पुडासैनीलाई नियन्त्रणमा लिएको हो। उनीहरुले चोरी गरेका चारवटा गाडी समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका पुडासैनी नयाँबजारमा रहेको आदित्य टान्सपोर्टका संचालक समेत भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ। उनीहरुले भारतबाट गाडी चोरी गरेर नेपालमा ल्याएर बिक्री गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।’ भारतबाट चोरी गरेर नेपाल भित्र्याएर बिक्री गरेको देखियो। बिहीवार हामीले चोरी गरेर ल्याएको गाडी समेत बरामद गरेका हौं,’ वृत्कात डिएसपी कुँवरले भने।
प्रहरीले चोरी भएको बा १८ च ३१३८ नम्बरको स्कार्पियो, बा ११ च ९७९४ नम्बरको टोयोटा फर्चुनर, बा २१ च ८७१४ नम्वरको कार र एउटा क्रेटाको समेत बरामद गरेको हो। उनीहरुले भारतबाट चोरी गरेको गाडी समेत नम्बर प्लेट चेन्ज गरेर बिक्री गर्ने गरेको खुलेको हो।प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।