नम्र व्यवहारले हामीलाई के दिन सक्छ ? सबैभन्दा पहिले त यसले अरु मानिसमा राम्रो प्रभाव पार्छ तर हाम्रो स्वास्थ्य र जीवनमा पनि यसले फाइदा पुर्याउन सक्ने वैज्ञानिकहरुले नयाँ अनुसन्धानमा पुष्टि गरेका छन् ।
यसबारेमा ‘बेदारी काइन्डनेस इन्स्च्युट’ का अध्यक्ष ड्यानिअल फेस्लर भन्छन्, “हामीले यहाँ ख्याल ख्यालको कुरा गरेका छैनौँ र सबै अध्ययन वैज्ञानिक दृष्टिकोणले हेरिरहेका छौँ । यहाँ हामीले मनोविज्ञान, जीवविज्ञान र सकारात्मक सामाजिक अन्र्तक्रियाका बारेमा कुरा उठाएका हौँ ।”
नम्र र दयालु व्यवहारका विषयमा पछिल्लो समय थुप्रै चर्चा भइरहेका छन् । पूर्वराष्ट्रपति बाराक ओबामाले गत महिनामा मात्र भेट्रान अमेरिकी डेमोक्रेट एलिजा कमिङ्सका बारेमा बोल्दै भनेका थिए, “एउटा बहादुर मानिसमा दया पनि हुनुपर्छ । र दलायु र नम्र हुनुले कसैलाई कमजोर बनाउँदैन । अरुका बारेमा पनि सोच्ने बानी कमजोरीको लक्षण हुनै सक्दैन । अरुलाई सम्मानपूर्वक व्यवहार गर्नुले हामीलाई केही नराम्रो गर्दैन ।”
यता चर्चित सेलिब्रेटी एलेन डिजेनर्सले पनि पूर्वराष्ट्रपति जर्ज डब्लु बुशसँगको मित्रताको व्याख्या गर्दैगर्दा सबैलाई दया र नम्र व्यवहार अपनाउन पहल गरेकी थिइन् । उनले भनेकी हुन्,“दया र सद्भाव भनेको आफूजस्तै सोचाइ भएकालाई मात्र देखाउने कुरा होइन । हामीले सबैसँग नम्र व्यवहार गर्नुपर्छ चाहे त्यो जोसुकै होस् ।”
यसरी विश्वव्यापी रुपमा यी घटना चर्चित भएपछि नै दया र सद्भावना के वास्तवमै यति धेरै महत्वपूर्ण छन् भन्ने गम्भीर प्रश्न खडा भएको थियो । जसपश्चात् वैज्ञानिकहरुले यसबारे विस्तृत अध्ययन र परीक्षण गरि नम्र व्यवहार साच्चिकै हाम्रो जीवन र मृत्युसँग जोडिएको निष्कर्ष निकालेका हुन् । फेस्लरका अनुसार प्रायः मानिसहरु अरुको दयालु व्यवहार देखेर नै आफू त्यस्तै बन्न प्रेरित हुने गरेका छन् ।
उनी भन्छन्, “हामी अहिले बाँचिरहेको समय अत्यन्तै क्रुर छ । किनकि आज विश्वभर दुई व्यक्तित्वबीच मित्रता र सद्भावनाभन्दा बढी युद्ध र लडाईँ देख्न सकिन्छ जसले एकअर्काभन्दा फरक राजनीतिक विचारधारा राख्छन् वा जो भिन्दाभिन्दै धर्म संस्कृति मान्छन् ।”
उनका अनुसार दया र सद्भाव भनेको मान्छेको सोचाइ, भावना र मान्यतासँग सम्बन्धित हाम्रो व्यवहारसँग जोडिएको छ जसको उद्देश्य अरुलाई राम्रो गर्नु हो । तर अरुलाई फाइदा पुर्याउनुले आफ्नो अन्त्य गराउँदैन भन्ने कुरा धेरैले बुझेका हुँदैनन् ।
अर्कोतर्फ क्रुर व्यवहार चाहिँ असहिष्णु विश्वास र अर्काको हित गर्ने मूल्यमान्यताको अभावसँग जोडिएको हुन्छ । यसको राम्रो उदाहरण हो सोसल मिडियामा हुने गरेको ‘ट्रोलिङ’ । फेस्लरका अनुसार क्रुर व्यवहारको अभ्यास कुनै नौलो कुरा होइन । र मानिसहरु जति बढी अज्ञात रुपमा हुन्छन् त्यति नै थोरै अरुको भलाइका बारेमा सोच्छन् र आक्रामक शैली अपनाउँदै अरुले भोग्नुपर्ने परिणामबारे कमै विचार गर्छन् ।
यस अनुसन्धानमा भने मानिसहरुबीच दया र सद्भाव कसरी फैलिएको छ भन्ने जाँच गरिएको हो जसपछि समाजविद्हरुले क्रुर तरिकाले व्यवहार गर्ने मानिसहरुलाई कसरी नम्र बनाउन सकिन्छ भन्नेबारेमा पनि विश्लेषण गरेका हुन् । त्यस्तै ‘साइकोलोजिस्ट’ हरुले चाहिँ नम्रताले कसरी डिप्रेसनका लक्षण कम गराइ मुड राम्रो गराउन सक्छ भन्ने सम्बन्धी अनुसन्धान गरेका हुन् । फेस्लर भन्छन्, “क्रुर व्यवहार गर्ने, अरुको भावनाको कदर नगर्ने व्यक्तिसँग बस्नुले वास्तवमै हाम्रो जीवन आयु छोट्याउने गर्दछ । तर अर्कालाई दया र सद्भावपूर्ण व्यवहार गर्ने र बदलामा आफूले पनि सम्मान पाउने किसिमको सम्बन्धले तनावलाई कहिल्यै नजिक आउन दिँदैन र हाम्रो स्वास्थ्य स्थिति राम्रो बनाइराख्दछ ।”
उनका अनुसार कुनै एउटा कफी पसलमा अन्जान व्यक्तिसँग हाँसेर अन्तरक्रिया गर्नुले पनि हामीलाई राम्रो गरिरहेको हुन्छ । यसरी दयालु भाव प्रकट गर्नाले हाम्रो रक्तचापलाई पनि कम राख्नका साथै यसका थुप्रै थेराप्टिक लाभ रहेको उनको भनाइ छ ।
एन्जाइटी र डिप्रेसनका लागि यो एकदम उपयुक्त औषधि भएको उनले बताए ।
यता कोलम्बिया युनिभर्सिटीकी डाक्टर केली हार्डिङले पनि यस विषयमा लामो समय अध्ययन गरिसकेपछि नम्र व्यवहारले प्रतिरोधात्मक प्रणालीलाई मद्दत पुर्याउने र मान्छेलाई वास्तवमै राम्रो र लामो जीवन बिताउन सहायता गर्ने निष्कर्ष निकालेकी हुन् ।
उनी भन्छिन्, “प्रायः अवस्थामा हामीलाई आफूप्रति भन्दा अरुसँग दयालु व्यवहार गर्न सजिलो हुन्छ । तर यसका थुप्रै तरिका छन् । चिकित्सा क्षेत्रमा प्रविधि दिन प्रतिदिन विकास भइरहे पनि नम्रता र सद्भावपूर्ण व्यवहारका सकारात्मक असरलाई कुनै कुराले प्रतिस्थापन गर्न सक्दैन । किनकि शारीरिक स्वास्थ्य पूर्णरुपमा मानसिक अवस्थासँग पनि जोडिएको हुन्छ । यी दुईबीचको सम्बन्ध जटिल छ ।”