गृहमन्त्रीलाई पूर्व गृहराज्यमन्त्रीको आग्रह– भारतविरुद्ध हुने प्रदर्शनमा दमन नगर्नुस्
वीरगंज संजाल
२५ कार्तिक २०७६, सोमबार १४:११
५६१५
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले भारतविरूद्धको प्रदर्शनमाथि दमन गर्न नहुने बताएका छन् । संसदको राज्यव्यवस्था समिति बैठकमा सांसद कँडेलले गृहमन्त्री रामबहादुर थापालाई भारतविरूद्धको प्रदर्शनमा दमन नगर्न सुझाव दिएका हुन् ।
भारतले नेपालको कालापानी आफ्नो नक्सामा राखेर नेपाली जनताको भावनाम आघात पुर्याएको भन्दै कँडेलले सो कार्यको विरोध पनि गरे । उनले सीमा सुरक्षालाई बलियो बनाउनुपर्ने धारणा राखे ।हिजो प्रहरीले भारतविरूद्धको प्रदर्शनमा धरपकड गरेको थियो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतविरूद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएका छन् । सांसद सुवालले भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेपछि अब अन्तर्राष्ट्रिय अदालत जानुपर्ने तर्क गरेका हुन् ।
उनले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा भारतविरूद्ध मुद्दा दिनुपर्ने बताए । नेपालमा रहेका भारतीय राजदूतलाई स्पष्टीकरण सोधिनुपर्ने र अरू राजदूत सबैलाई बोलाएर कालापानी भारतले मिचेको जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नुपर्ने उनको भनाइ थियो ।खुला सीमा सुरक्षाका लागि नेपाली सेना पठाउन पनि उनले माग गरे ।