जुम्ला सदरमुकाममा आगलागी : समयमै दमकल आएकाले जोगियाे मुख्य शहर
वीरगंज संजाल
२३ कार्तिक २०७६, शनिबार १३:५६
५४७९
जुम्ला | खलंगाको मुख्य बजारमा रहेको नेवा किचनमा भीषण आगलागी भएको छ । होटलको माथिल्लो तलामा आगलागी भएको ५ मिनेटमै दमकल त्यहाँ पुगेपछि आगो निभाइएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको पहलमा नियन्त्रणमा लिन सफल भएको छ ।
चन्दननाथ नगरपालिकाको दमकलले आगो निभाएको हो । शनिबार बिहान ९ बजतिर आगलागी भएको हो । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आफैले आगो लागेको देखेपछि तत्काल सुरक्षा अधिकारीहरुलाई खबर गर्नु भएको थियो ।जिल्ला प्रशासन कार्यालयबाट एक घर पर रहेको होटलमा आगो लागेको देखेपछि प्रजिअ बञ्जाडेले तत्काल मेयर कान्तिका सेजुवाललाई फोन गर्नुभएको थियो । दमकल ५ मिनेटमै घटनास्थलमा पुगेको प्रजिअ बञ्जाडेले जनाउनुभयो ।
खबर आउनेबित्तिकै ५ मिनेटमै दमकल पुर्याउन सफल हुँदा जुम्लाको पुरै शहर जोगिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दमकलमा हरेक दिन पानी भरेर तयारी अवस्थामा राख्ने गरिएकाले सजिलो भएकाले जानकारी दिनुभयो । दमकलका चालक लेख न्यौपानले चाडै दमकल पुर्याएर क्षति कम गर्न सफल भएको जानकारी उहाँले दिनुभयो ।
यसैगरी चन्दननाथ नगरपालिका ५ का घरधनी नवराज श्रेष्ठको घरको माथिल्लो तला पूर्ण रुपमा जलेको र क्षतिको यकिन विवरण प्रहरीले संकलन गर्दै गरेको प्रहरी नायब उपरीक्ष (डीएसपी) कलालबहादुर धामीले जानकारी दिनुभयो ।जुम्लाका कतिपय मुख्य बजारमा दमकल नै नछिर्ने भएकाले त्यसअनुसारको बाटोको आवश्यकता छ । तथापि बढ्दो विकाससँगै यो विषयमा ध्यान नदिएकोमा उच्च जोखिम रहने भन्दै भौतिक पूर्वाधार निर्माणमा स्थानीयले जोड दिएका छन् ।