प्रस | पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा झोले चिकित्सकहरूको बिगबिगी अहिले पनि जारी छ ।विभिन्न चरणमा झोले चिकित्सकहरूविरुद्ध अभियान चालिएपछि हराउने र प्रकट हुने क्रमसँगै अहिले पुनः चाडबाडको बेलामा ग्रामीण क्षेत्रमा उनीहरूको सक्रियता बढेको हो ।
खासगरी भारतबाट आउने झोले चिकित्सकहरूले सबैखाले उपचार गर्ने दाबी गर्दै औषधि बिक्री गर्छन् ।सबै रोगको निदान हुने प्रत्याभूतिका साथ औषधि बिक्री गरेर उनीहरू बेपत्ता हुन्छन् ।केही महीनापछि सो घटना सबैले बिर्सने र फेरि उनीहरू सक्रिय हुने गर्छन् । झोले चिकित्सकहरूसँगै ग्रामीण क्ष्Fेत्रमा नेटुवाहरूले पनि विभिन्न रोगका औषधि बिक्री गर्दै आएका छन् ।वीरगंज महानगरपालिकामा समेत नेटुवाहरूले विभिन्न रोगका औषधिहरू बिक्री गरेको देख्न पाइन्छ ।
तिनै नेटुवाहरू अहिले पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पनि सक्रिय छन् ।रुवागुठी प्रहरी चौकीका प्रसनि सुजीत पासवानले नेटुवा जातिलाई सम्झाउन नसकिने बताए । उनले एक ठाउँमा उनीहरूको बसोबास नहुने र ठाउँ फेरिफेरि बसोबास हुने गर्दा उनीहरूविरुद्ध कारबाई गर्न नसकिएको बताए । उनीहरूले बिक्री गरेको औषधिविरुद्ध चौकीमा उजूरी पनि नपरेको प्रसनि पासवानले बताए । उजूरी परेको अवस्थामा मात्र प्रहरीले कारबाई गर्न सक्ने उनको भनाइ छ ।