त्रिपालमै बित्ने भयो आगलागी पीडित शरणार्थीको तिहार
वीरगंज संजाल
८ कार्तिक २०७६, शुक्रबार ११:४१
६१९७
दमक | यस वर्षको दशैंलाई बिदा गर्दैगर्दा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा उल्लास थियो। अभावका बीच पनि रमाइलो गरी दशैं मनाएका उनीहरु तिहारको स्वागत गर्ने क्रममा थिए। तर, जब बिहानको खाना खाने बेला हुँदै थियो, दशैं मनाएको खुसी धुँवा बनेर उडिहाल्यो। दशैंको अन्तिम दिन अर्थात् करिब दुई साताअघि शरणार्थी शिविरमा भएको आगलागीका कारण शरणार्थीहरुका छाप्राको एउटा बस्ती खरानी बन्यो। छाप्रा वा महल जे भने पनि आफ्नो बास गुमाएका शरणार्थीको दैनिकी तिहारको रमझममा रमाउनुपर्ने बेलामा पनि कष्टकर छ।
गत असोज २६ मा आगलागी हुँदा भुटानी शरण्णार्थी शिविर बेलडाँगी–२ को आठ परिवारको घर जलेको थियो भने आगलागी नियन्त्रणका क्रममा एक घर भत्काइएको थियो। हाल उनीहरुमध्ये केही त्रिपाल टाँगेर गुजरा चलाइरहेका छन् भने केही छिमेकीको शरणमा छन्। सबै समान जलेपछि बिजोग भएको विस्थापितमध्येकी नरमाया तामाङले बताइन्। घर बनाउन भरपर्दो सहयोग समेत कतैबाट पाउन नसकिएको उनको गुनासो छ। पीडितहरुलाई रेडक्रस, लुथरन, दमक उद्योग वाणिज्य संघ, चेरी क्लब, होम केयर नामक संस्था तथा तेस्रो मुलुक पुगेका आफन्तबाट केही सहयोग पाए पनि पुनः घर बनाउन भने समस्या भएको पीडित अम्बिका कार्कीले बताइन्। आगलागीबाट घर गुमाउनुभन्दा बढी पीर उनलाई छोराछोरीको किताबकापी जलेकोमा छ।
‘ज्यान त जसै जोगाइयो, भएको सम्पत्ति पनि गयो,’ कार्कीले दुःखेसो गरिन्, ‘१२ कक्षामा पढ्दै गरेकी छोरी र ६ कक्षामा पढ्दै गरेका छोराको किताबकापी सबै जल्यो। अब फेरि कसरी जुटाउने होला?’ दाताले छाडे, अरुले हेरेनन् अहिले वरिपरिको बस्तीमा तिहारको रमझम छ। रंगीचंगी मालाले बजार ढाकिएको छ। तर, आगलागी पीडितहरुको आँखाअगाडि आफ्नै घर जलेको खरानीको डंगुर बाहेक केही छैन। ‘दुई गाँस खान जसोतसो सहयोग पाए पनि पुनः आफ्नै घरमा बस्ने व्यवस्था मिलाउनु पर्यो,’ पीडित दिल महतले भने, ‘अब हामी शरणार्थीले के श्रोतबाट घर बनाएर बस्नु र। त्यसैले मानवीयताका हिसावले पनि यसका लागि दातृनिकाय, नेपाल सरकार तथा स्थानीय सरकारले सहयोग गर्नु पर्यो।’ अधिकांश शरणार्थीहरुको तेस्रो देश पुनस्र्थापना भएपछि दातृ संस्थाहरुले सहायता समेत कटौती भएको छ।
यसले शरणाथीहरुलाई झनै पीडामा थपेको छ। ‘राशिन दिन छेडेपछि ज्यानै पाल्न त मुस्किल थियो,’ पीडित विकास गुरुङले भने, ‘झनै आगलागी भएपछि झन् आपत्तै परेको छ नि।’ प्रारम्भिक राहत वितरण आगलागीपछि केही स्थानीय संस्था तथा लुथरन, रेडक्रसले प्रारम्भिक सहयोग गरेको शिविर सचिव कृष्ण लिङ्देनले बताए। जिल्ला प्रशासन कार्यालय झापाबाट विस्थापित परिवारलाई १०÷१० हजार रुपैयाँका दरले सहयोग पाए पनि यो पर्याप्त हुन नसकेको उनको भनाइ छ। आगलागीबाट भिमबहादुर राई, नरवीर राई, दिल महत, नरमाया तामाङ्, सरिता तामाङ, अम्बिका कार्की, विकास गुरुङ र गणेश कार्कीको घर जलेर नष्ट भएको थियो। आगलागी नियन्त्रणका क्रममा मधु दाहालको घर भत्काइएको थियो। विस्थापित नौ परिवारका २९ जना हिउँदको बढ्दो चिसोमा कष्टकर रात बिताइरहेका छन्।