औद्योगिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको प्रवर्धनमा जोड
वीरगंज संजाल
६ कार्तिक २०७६, बुधबार १५:५२
४७५३
काठमाडौं । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवद्र्घन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताउँदै उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च भएको बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने भन्दै यस्ता उद्योगहरुबाट गुणस्तरीय र प्रतिष्पर्धी उत्पादन बजारमा आउनुपर्नेमा जोड दिए । पछिल्लो समय बढ्दो लागत र दोहोरो करबारे उद्योगीहरुको झेल्नु परेको समस्या तर्फ ध्यानाकर्षण गर्दै उनले तीन तहमा कतै पनि दोहोरो करमा व्यवसायी परेमा ठोस प्रमाण सहित देखाइ दिए समाधान गर्न सहज हुने बताए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले नेपालको मौलिक संस्कृति परम्परा र पहिचान बोकेका उत्पादन अन्तराष्ट्रिय मुलुकमा निर्यात गर्ने भएकाले यो क्षेत्रको विशेष महत्व रहेको बताए । उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले औद्योगिक विकास गर्नका लागि मुख्य आधार नै साना उद्योग भएको भन्दै गाउँघरका स्थानीय कच्चा पदार्थको प्रयोग हुने रैथाने कुटीर उद्योगकोे विकासबाट मात्र औद्योगिक विकास सम्भव भएको बताए ।