तीन बर्षभित्र सबै जनताको घरमा बिजुली पुग्ने उर्जामन्त्री पुनको दाबी
वीरगंज संजाल
६ कार्तिक २०७६, बुधबार १५:३९
४७५५
चितवन | उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले तीन बर्षभित्र सबै जनताको घरमा बिजुली पुग्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकामा भएको एक कार्यक्रमलाई संबोधन गर्दै चालू आर्थिकमा वर्ष २८ करोड बजेट छुट्टाएको बताउनुभयो । मन्त्री पुनका अनुसार ४१ जिल्लामा यसपटक पूर्ण विद्युतीकरण गर्ने काम सुरु भएको छ, त्यसमा चितवन पनि परेको छ ।’
मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट लाइटको अवधारणालाई अगाडि बढाइएको बताउनुभयो । मन्त्री पुनले २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न लागिएको समेत बताउनुभएको छ । नेपाल सरकारले एउटा मोडेल प्रोजेक्टका रुपमा भरतपुरमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न लागिएको उहाँको भनाइ छ ।
भरतपुर महानगरपालिकाले गरेको नारायणी र राप्ती नदी तटबन्धसम्बन्धि छलफल कार्यक्रममा मन्त्री पुनले करीब ६ अर्बको हाराहारीमा नदी नियन्त्रण र तटबन्धनको लागि बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ ।
उहाँले नारायणी नदी तटबन्धलाई प्रामिकताका साथ काम अगाडि बढाउन सम्बन्धित आयोजना प्रमुखहरुलाई निर्देशन समेत दिनुभएको छ । उहाँले भन्नुभयो, ‘बजेटको कमी हुन दिने छैन, काम अगाडि बढाउनुस् ।’ अबको विकास साझेदारी मोडलमा अगाडि बढाउँदा आशातित उपलब्धि हाँसिल गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रमका प्रदेश सांसद विजय सुवेदीले समयमै नारायणी र राप्ती नदी तटबन्धलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । अर्का प्रदेश सांसद मिलनबाबु श्रेष्ठले विकासका कार्यक्रमहरु योजनाबद्ध ढंगले अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्धन, पश्चिम चितवनका सिंचाइको व्यवस्था र रिंगरोडको कामलाई तीव्रताका साथ पर्याप्त बजेटसहित अगाडि बढाइदिन उर्जामन्त्री पुनसमक्ष आग्रह गर्नुभएको थियो । उहाँले मन्त्रीसामु स्मार्ट सडक बत्ती र सिंचाइको लागि नारायणी लिफ्ट र खगेरी सिंचाइको विस्तारको लागि पर्याप्त बजेटको व्यवस्था गर्नसमेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जलस्रोत तथा उर्जा मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठ, वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका प्रमुख मधुसुदन अधिकारी, भरतपुर २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, भरतपुर महानगरका इन्जिनियर भरत आचार्य, भरतपुर १६ कार्यवहाक अध्यक्ष ओम रावल, उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले आफ्नो धारण राख्नुभएको थियो ।