काठमाडौं । जाजरकोटमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य नीरज आचार्य प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबाट कुटिएका छन् । जाजरकोटमा पार्टीको शपथ ग्रहण कार्यक्रममा जान लागेका केन्द्रीय सदस्य आचार्यसहितको समूहलाई गौंडा ढुकेर बसेका विप्लवका कार्यकर्ताले बुधबार बिहान आक्रमण गरेको बताइएको छ ।
जाजरकोटको बारेकोट गाउँ कमिटीको शपथ ग्रहण र प्रथम बैठकमा सहभागी हुन हिँडेका नेता–कार्यकर्तालाई लैखम भीरमा बाँसका भाटाले आक्रमण गरेर गम्भीर घाइते तुल्याएको जाजरकोट जिल्ला कमिटीले जानकारी दिएको छ ।आक्रमणबाट प्रदेश कमिटी सदस्य डम्बर सिंह र शील बस्नेत पनि घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।आक्रमणपछि घटनास्थलमा प्रहरी पुगिसकेकोे छ । अहिले त्यहाँको अवस्था सामान्य छ ।