विराटनगर । मोरङका खोलानालामा आझै लुकिछिपि अवैध ढुंगागिटी उत्खनन् गर्ने क्रम रोकिएको छैन । मुख्य खोलाहरुमा अवैध रुपमा उत्खनन् हुन थालेपछि प्रहरीले निगरानीसमेत बढाएको छ । यही क्रममा विभिन्न खोलाबाट उत्खनन्मा प्रयोग भएका ट्याक्टर तथा टिपरलाई मोरङ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।विराटनगर मनपा ४ स्थितमा रहेको केशलिया खोलामा केशलिया पुलदेखि अन्दाजी ३ सय मिटर उत्तर माटो कटानमा संलग्न व्यक्ति तथा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता डिएसपी राजकुमार खिउंजुले अवैध कटानबारे सूचना प्राप्त हुनसाथ प्रहरी टोली पुगेर त्यसलाई नियन्त्रण गरिएको बताए ।
भने,‘‘सोमबार १२ बजे अवैध रुपमा माटो कटान भईरहेको छ भन्ने सूचना प्राप्त हुनासाथ जिप्रका मोरङबाट प्रनाउको कमाण्डमा टोली खटिगई ७ वटा टिपर र एक स्र्काभेटर नियन्त्रणमा लियौं ।’’ उनले खोलाको दुबैतिर कटान गरेको पाइएको र जिप्रका सुनसरीसँग समन्वय गरी इलाका प्रहरी कार्यालय दुहवीमा ती साधन बुझाइएको जानकारी दिए । केशलिया खोला सुनसरी र मोरङ जिल्लाको सिमाना भएर बग्छ ।यस्तै, मोर मोरङ केराबारी गाउँपालिका वडा नम्बर स्थित भलुवा खोलामा पनि अवैध रुपमा ढुंगा ओसार्न प्रयोग भएको को २ त ५४५३ नं.को ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
अपैध रुपमा ढुङ्गा लोड गर्दै गरेको अवस्थामा इप्रका सोमबार नै केराबारीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त ट्याक्टर इप्रका केराबारीमा ल्याई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । यसैगरी सोमबार नै विराटनगर महानगरपालिका वडा नं. ४ स्थित इक्राहीमा अवैध रूपमा माटो उत्खनन् गरिरहेको को २ त ४५८, को २ त ९०००, को २ त ३६३२ र को १ त ४९०५ नम्बरको ट्रयाक्टरहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महानगरपालिकाको कार्यालय विराटनगरमा बुझाइएको छ ।