बलिउड मेगास्टार अमिताभ बच्चन पछिल्लो ३ दिनदेखि अस्पतालमा छन् । उनको कलेजोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
अमिताभ आफैंले धेरैपटक भनिसकेका छन् कि उनको कलेजोको २५ प्रतिशतले मात्रै काम गरिरहेको छ । तर ३ दिनको अस्पताल भर्नासँगै अहिले उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको बताइएको छ ।
भारतीय मिडियाका अनुसार स्वास्थ्यमा अलि बढी नै समस्या देखिन थालेसँगै उनलाई मंगलबार २ बजेतिर अस्पताल लगिएको थियो । अहिले पनि उनको अस्पतालमै उपचार भैरहेको छ ।
सन् १९८२ मा चलचित्र ‘कुली’को छायांकनको क्रममा चोट लागेदेखि उनमा समस्या हुन थालेको बताइएको छ । खबरका अनुसार छायांकनको क्रममा चोट लाग्दा उनलाई गल्तिले हेपाटाइटिस बी को बिरामीको रगत चढाइएको थियो ।
अहिले उनको कलेजोले ७५ प्रतिशत काम गर्न छोडिसकेको छ । जसको कारण सिरोसिस बताइएको छ ।
अस्पतालमा अमिताभको एक विशेष कोठामा राखेर उपचार भैरहेको छ । उनलाई जुहुस्थित नानावती अस्पतालमा राखिएको बताइएको छ । प्रायः बलिउड कलाकारलाई यसको जानकारी पनि दिइएको छैन । यसै साता मात्रै अमिताभले ७७ औं जन्मदिन मनाएका थिए ।