मुस्कानलाई एसिड छ्याप्ने अभियुक्तलाई अदालतको यस्तो आदेश
वीरगंज संजाल
१ कार्तिक २०७६, शुक्रबार ०७:५०
४१२३
वीरगंज | नेपालकै चर्चित काण्डमध्ये वीरगंजको एसिड काण्डका अभियुक्तलाई जिल्ला अदालत पर्साले बाल सुधारगृह बिर्तामा पठाएको छ । जिल्ला अदालतको १ नं. इजलासका मुख्य न्यायाधीश प्रकाश खरेलको एकल इजलासले उमेर यकिन नहुँदा अभियुक्तहरू शमशाद मियाँ र मजीद मियाँलाई कारागारको साटो बाल सुधारगृह, बिर्तामा पठाएको जानकारी प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले प्रमाण सङ्कलन गरी उमेरको हकमा मजीद मियाँलाई १९ वर्ष र शमशाद मियाँलाई १८ वर्ष तोकेर पठाएको देखिन्छ । नारायणी अस्पतालले प्रहरीलाई प्रमाणस्वरूप उपलब्ध गराएको मेडिकल रिपोर्ट अनुसार शमशाद आलमको उमेर १६ देखि १८ वर्ष र मजीदको १८ देखि २० वर्ष तोकिएको छ । घरपरिवारले अदालतमा पेश गरेको जन्मदर्ता अनुसार मजीदको २०६२ वैशाख १ गते र शमशादको २०६४ सालमा जन्म भएको थियो ।
यस विषयमा मुख्य न्यायाधीश प्रकाश खरेलले सबुत प्रमाणले दोषी भेटिए पनि उमेर यकिन नहुँदा बालबालिका संरक्षण ऐन २०७५ अनुसार दुवैजनालाई सुधारगृहमा पठाएको बताए । प्रहरीले दाबी गरेको प्रमाण र मेडिकल रिपोर्टको आधार मान्दा न्यूनतम उमेरलाई कानूनले आधार मानेकोले सोहीअनुरूप दुवैजनाको उमेर १६ देखि १८ वर्ष देखिएकोले नाबालिगको हकमा बाल सुधारगृहमा पठाएको बताए ।
अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले नाबालिगको हकमा पुर्पक्ष नहुने तर बाल सुधारगृह पठाइएको जानकारी गराए । उनले मुद्दाको टुङ्गो नलागेसम्म ती बालकहरू सुधारगृहमा कडा सुरक्ष्Fाको बीचमा राखिने बताए । बालिगको हकमा मुद्दा टुङ्गो नलागेसम्म कारागार पठाउने गरेको र कारागारमा राखी अनुसन्धान प्रक्रिया पूरा गरी मुद्दाको छिनोफानो हुने गरेको उनले बताए ।
प्रहरीले दुवैजनामाथि ज्यान मार्ने नियत तथा तेजाबलगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार शमशादमाथि ५ देखि ८ वर्ष कैद र रु १ लाखदेखि ५ लाखसम्म जरिवाना तथा मजीदमाथि १० वर्ष कैद र रु १ लाख जरिवानाको मागदाबीसहित जिल्ला अदालतमा फाइल दर्ता गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले दाबी गरेको उमेर तथा परिवारले पेश गरेको प्रमाणको जाँच प्रक्रिया शुरू भइसकेको न्यायाधीश खरेलले जानकारी दिए । हिजो भएको थुनछेक बहसले मात्र सबै कुरा हुँदै बालिग भएको भए कारागारमा राखेर अनुसन्धान हुन्थ्यो तर नाबालिग भएकोले बाल सुधारगृहमा पठाएको बताए ।
भदौ २० गते छपकैया निवासी मुस्कान खातुनमाथि गणेशमान चोकनजीक दुवैजनाले एसिड प्रहार गरेका थिए । सो घटनालाई लिएर नेपाल–भारतका चर्चित व्यक्तित्वहरूले आआप्mनो अभिव्यक्ति दिएका थिए भने जिल्लाका राजनीतिक दलहरूले पनि आआप्mनो धारणा प्रस्तुत गरेका थिए । यस विषयमा सांसद प्रदीप यादवले केही दिनअघि जिप्रका पर्सामा पुगी दोषीलाई कडा कारबाई गर्न माग गरेका थिए ।