काठमाडौं । भारतको हरियाणा राज्यस्थित नारनौलमा आयोजित इन्डो–नेपाल लघुकथा सम्मेलन सम्पन्न भयो । उक्त अवसरमा नेपालका चार जना लघुकथाकार सम्मानित भए ।
उक्त सम्मेलनमा लघुकथाकार धु्रव मधिकर्मी, श्रीओम श्रेष्ठ रोदन, हरिप्रसाद भण्डारी र नवराज रिजाललाई ‘मनुमुक्त मानव लघुकथा गौरव’ सम्मान प्रदान गरिएको थियोे ।
त्यस्तै भारतीय लघुकथाकारहरू अशोक जैन, कृष्णचन्द्र महादेविया, विभा रश्मीलाई पनि सम्मानित गरिएको थियो ।
कार्यक्रममा लघुकथाकार डा. पुष्कर भट्टलाई नगद राशी ११ हजारसहित ‘मनुमुक्त मानव लघुकथा गौरव’ पुरस्कार प्रदान गरिएको थियो ।
मनुमुक्त मानव मेमोरियल ट्रष्टको आयोजनामा भएको सो सम्मेलनमा नेपाल र भारतमा लघुकथाका क्षेत्रमा भइरहेको अध्ययन अनुसन्धानको परिचर्चाका साथै सहभागीहरूबाट लघुकथासमेत वाचन गरिएको थियो ।
ट्रष्टका संरक्षक रामनिवास मानवले नेपाल र भारतका स्रष्टाहरूबीचको संवादले लघुकथाको विकास हुने बताउँदै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिए बताए ।
कार्यक्रममा नेपाल र भारतका विभिन्न प्रदेशका दुई दर्जन बढी लघुकथामा कलम चलाउनेहरूको उपस्थिति थियो ।