संयुक्त राज्य अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ । सिरियामा आक्रमण गरेको अभियोगमा टर्की मन्त्रिपरिषद र उच्च सरकारी अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको जनाएको छ ।
अमेरिकी वित्तमन्त्री स्टेभेन मुनचिनले दुई टर्की मन्त्रालय र तीनजना उच्च सरकारी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको बताएका छन् । टर्कीको रक्षा, उर्जा र गृह मन्त्रालयमाथि प्रतिबन्ध लगाएको अमेरिकी वित्त मन्त्रालयले जनाएको छ ।
प्रतिबन्ध लगाएपछि अमेरिकामा रहेको उक्त मन्त्रालयको सम्पत्ति फ्रिज गर्ने र कारोबारसमेत गर्न नपाउने जनाइएको छ । टर्की सरकारको कदमले निर्दोष सर्वसाधारणमाथि खतरा उत्पन्न भएको र उक्त क्षेत्रमा स्थिरता उत्पन्न गराएकोले प्रतिबन्ध लगाइएको अमेरिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीस राष्ट्रपति रिसेप ताइप इर्डोगानलाई फोन गर्दै तत्काल युद्ध रोक्न माग गरेको उपराष्ट्रपति माइक पिनेकले जनाएका छन् । उपराष्ट्रपति पिनेकले आफू जतिसक्दो चाँडो उक्त क्षेत्रमा जाने बताएका छन् ।
अमेरिकाले आफ्नो सेना फिर्ता गरेसँगै टर्कीलाई ग्रिन सिग्नल दिएको भन्दै निकै आलोचना भइरहेको समयमा अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको हो । टर्कीले कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सलाई सीमाक्षेत्रबाट लखेट्न चाहेको थियो ।
टर्कीले सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) लाई निकै ठूलो मिलिसियाको रुपमा लिएको छ । टर्कीस लडाकुले उसको सरकारले जस्तै उक्त क्षेत्रमा ‘शान्ति क्षेत्र’ स्थापना गर्न चाहन्छ । करिब २० लाख सिरियाली शरणार्थीलाई टर्कीमा पुर्नस्थापना गर्न चाहेकोसमेत टर्की सरकारले जनाएको छ ।
टर्कीको यस्तो कदमलाई स्थानीय कुर्द जनसंख्याको बाहुल्य भएको क्षेत्रमा जातीय सफाया गर्न चाहेको भन्दै आलोचना भइरहेको छ ।