संक्रमणकालीन न्यायः सिफारिसको प्रक्रिया अघि बढाउन आजदेखि लगातार बैठक
वीरगंज संजाल
२८ आश्विन २०७६, मंगलवार ११:५२
४४६३
काठमाडौं । विगतको द्वन्द्वका घटना हेर्ने गरी बनाइएका सत्य र बेपत्ता सम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न सरकारले गठन गरेको सिफारिस समितिले आजदेखि काममा गति दिने भएको छ । सिफारिस समितिका अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मंगलबार बाह्रखरीसँगको कुराकानीमा आज ३ बजेका लागि बैठक डाकिएको र छनौट प्रक्रिया अघि बढाइने जनाए ।
अबको प्रक्रिया आवेदन हाल्नेहरुको नाम सार्वजनिक गरेर उनीहरुको बारेमा केही दिन भित्रमा उजुरी हाल्न लगाउने र उजुरीको बारेमा छानबिन गर्ने हो । अध्यक्ष मिश्रले अब उजुरीका लागि आवश्यक प्रक्रिया अघि बढ्ने जनाए ।
सत्य र वेपत्ता सम्बन्धी आयोगका पदाधिकारीका लागि यस अघि आवेदन मागिएकोमा ५७ जनाले त्यसका लागि आवेदन मागेका छन् । त्यसबाहेकका व्यक्तिलाई पनि सिफारिस समितिले छनौट गर्न सक्नेछ । सिफारिस समितिका सदस्य तथा प्रवक्ता शर्मिला कार्कीले अब लगातार नै बैठक बसेर यो मामिलालाई टुंगोमा पुर्याउने जनाइन् । उनको भनाइ थियो, ‘‘आजबाट हामी लगातार हरेक दिन बैठक बसेर यो मामिलालाई टुंगोमा पुर्याउने प्रयासमा छौं । ।’’
गएको मार्च २१ को मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । सो समितिमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्ती सहित रामनाथ मैनाली, प्रेमबहादुर खड्का र शर्मिला कार्की सदस्य रहेका छन् ।
दुवै आयोगमा जानका लागि ५७ जनाले आवेदन दिएपनि १ जनाको शैक्षिक योग्यता तोकिए अनुसार नभएकोले उनी बाहिरिने अवस्थामा पुगेको र अर्का एक जनाले अध्यक्षका लागि दाबी गरेकोमा अध्यक्ष हुनका लागि उनको योग्यता नपुगेकोले दुई जना बाहिरिने अवस्था रहेको जनाइएको छ ।
सिफारिस समितिको सचिवालयका अनुसार दुई जनालाई हटाएर अन्य आवश्यक व्यक्ति थपेर बाँकीको नाम गोरखापत्रमा सार्वजनिक गर्ने सम्भावना रहेको छ । नाम सार्वजनिक गरेपछि उजुरी लगायतका प्रक्रिया अघि बढ्नेछन् ।