महिला म्याराथनमा केन्याकी कोस्गेइको नयाँ विश्व रेकर्ड
वीरगंज संजाल
२७ आश्विन २०७६, सोमबार १३:३४
३७९९
एजेन्सी । केन्याकी बिग्रिड कोस्गेइले महिला म्याराथनमा नयाँ विश्व रेकर्ड बनाएकी छन् । इङ्ल्यान्डकी पउला राडक्लिफको रेकर्डलाई तोड्दै कोस्गेइले नयाँ विश्व रेकर्ड बनाएकी हुन् ।
२५ वर्षीय कोस्गेइ सिकागो म्याराथनमा १६ वर्षपछि पउला राडक्लिफको रेकर्ड तोड्न सफल भइन् । सन् २००३ मा लण्डन म्याराथनमा राडक्लिफले २ घन्टा, १५ मिनेट २५ सेकेन्डमा राखेको रेकर्ड कोस्गेइले दुई घन्टा १४ मिनेट ०४ सेकेन्डमा पार गर्दै तोडेकी हुन् ।
नयाँ रेकर्ड राखेसँगै कोस्गेइ म्याराथन जित्ने जवान खेलाडी बनेकी छिन् । इथियोपियाकी अबाबेल यशानेह दोस्रो स्थानमा रहिन् । कोस्गेइ भन्दा तीव्र गतिमा जम्मा २२ पुरुषहरु रहेका छन् ।
गएको वर्षमा कोस्गेइले २ घन्टा १८ मिनेट, ३५ सेकेन्डमा म्याराथन जितेकी थिइन् । आफ्नो नयाँ रेकर्डमा खुशी हुँदै कोस्गेइले भनिन्, “मैले निकै आनन्द महसुस गरेकी छु किनभने म यसरी दौडिन सक्छु जस्तो मलाई लागेको थिएन ।”
पूर्व विश्व विजेता राडक्लिफले भनिन्, “जब मैले कोस्गेइलाई पहिलो हाफमा दौडेको देखेँ तब मलाई लागेको थियो कि मेरो रेकर्ड तोडिँदै छ ।”