दोस्रो गोप्य स्रोतले ल्याउँदै ट्रम्पविरुद्ध थप सूचना, हट्छन् त उनी ?
वीरगंज संजाल
२० आश्विन २०७६, सोमबार १०:४५
३१३७
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग मामिलामा अर्का एक ‘व्हिसलब्लोअर’ सामुन्नेमा आएका छन् । ट्रम्प र युक्रेनका राष्ट्रपतिबीचको संवादका बारेमा आफूसँग भएको जानकारी गोप्य रुपमा सार्वजनिक गर्दै आएको स्रोतलाई ‘व्हिसलब्लोअर’ भनिँदै आएको छ ।
पहिलो ‘व्हिसलब्लोअर’को उजुरीका आधारमा संसदमा अहिले ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया चलिरहेको छ । ‘व्हिसलब्लोअर’ गुप्तचर निकायको कोही व्यक्ति भएको अनुमान गरिएको छ ।
उनको उजुरीमा उल्लेख भएको कुरा हालै व्हाइट हाउसले कुराकानीको ट्रान्सक्रिप्ट सार्वजनिक गर्दा पुष्टि भएको थियो । उनले कुराकानीमा आफ्ना प्रतिद्वन्दी मानेका डेमोक्रयाट नेता जो बाइडेनका बारेमा छानबिन गर्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको कुरा पुष्टी भएको थियो ।
यद्यपि ट्रम्पले अहिले सार्बजनिक रुपमै युक्रेन र चीनलाई समेत छानबिन गर्न आग्रह गरेका छन् । तर चीनले यो अमेरिकाको आन्तरिक मामिला भएको जवाफ दिइसकेको छ । पहिलो व्हिसलब्लोअरका वकिलले दोस्रो व्हिसलब्लोअर पनि रहेको जनाएका हुन् । तर, दोस्रोलाई जानकारी भएको कुरा के हो भन्ने विषय सार्वजनिक गरिएको छैन ।व्हाइट हाउसले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । दोस्रो व्यक्तिपनि खुफिया एजेन्सीको आधिकारी भएको अनुमान गरिएको छ ।
ट्रम्पले आफ्नो विरुद्धमा लागेको आरोपको खण्डन गर्दै आएका छन् ।तर, देशभित्रको कुरालाई लिएर विदेशीलाई छानबिन गर्न उनले आग्रह गरेको विषयलाई आपत्तिजनक मानिएको छ । ती वकिलका अनुसार दोस्रो व्हिसलब्लोअरलाई ट्रम्प र युक्रेनका राष्ट्रपति ब्लादिमिर जेलेन्स्कीबीच गएको जुलाई २५ मा भएको वार्ताको थप विवरणपनि थाहा छ । न्यूयोर्क टाइम्सले यो घटनामा जोडिएको अर्को एक व्यक्ति पनि आइरहेको आफ्नो शुक्रबारको अंकमा समाचार दिएको थियो ।
ट्रम्पका निजी वकिल रुदी जुलियानीले ट्विट गर्दै अर्को एक गोप्य स्रोत सामुन्ने आउने विषयमा आफू कुनैपनि चिन्तामा नभएको बताएका छन् । उनले यो जाँचलाई राजनीतिसँग जोडिएको बताएका छन् ।
जाँच किन हुँदैछ ?
एक व्हिसलब्लोअरले ट्रम्पलाई आफ्नो पदको दुरुपयोग गरेर सन् २०२०मा हुने अमेरिकी राष्ट्रपति चुनावमा सम्भावित डेमोक्रयाट प्रतिद्वन्दी जो वाइडेन र उनको छोराको विरुद्ध जाँच शुरु गर्न युक्रेनमाथि दबाब दिएको जानकारी गराएको भन्दै उजुरी दिएका थिए ।
यदि यो प्रमाणित भयो भने ट्रम्प समश्यामा पर्न सक्नेछन् । किनकी अमेरिकामा चुनाव जित्नको लागि विदेशी संस्थासँग मद्यत माग्नु गैरकानुनी हो । डेमोक्र्याटको नियन्त्रण रहेको हाउस अफ रिप्रेजेन्टेटिभले यदि ट्रम्पमाथि महाअभियोगको पक्षमा मतदान गरेमा यो मामिला फेरि सिनेटमा जानेछ ।
दोषी ठहर गर्नका लागि सिनेटमा दुई तिहाइ बहुमत जरुरी हुन्छ । तर, ट्रम्पको रिपब्लिकन पार्टीको सिनेटमा बहुमत रहेको छ । त्यसैले ट्रम्पलाई हटाइ हाल्न सम्भव देखिदैन । तर, रिपब्लिकनले नै फ्लोर क्रस गर्ने अवस्था आयो भने चाहिं सम्भव हुन सक्छ । – एजेन्सीको सहयोगमा