दसैंमा महँगीको मार, लत्ता–कपडादेखि दैनिक उपभोग्य वस्तुमा तीन सय प्रतिशत मूल्यवृद्धि
वीरगंज संजाल
१४ आश्विन २०७६, मंगलवार ०८:३९
७१६७
बिरगंज| दसैंको समयमा व्यापारीले दैनिक उपभोग्य वस्तुमा अचाक्ली मूल्य बढाएका छन् । बजारमा व्यापारीले मनलाग्दी मूल्य लिन थालेपछि दसैंका लागि लत्ता–कपडालगायत दैनिक उपभोग्य वस्तु किन्न जाने हजारौं सर्वसाधारण पीडित बन्ने गरेका छन् ।
व्यापारीले लत्ता–कपडा, जुत्ता–चप्पललगायतमा दुई–तीन सय प्रतिशतसम्मले मूल्य बढाएर बिक्री गरिरहेको पाइएको छ ।
सडकपेटीदेखि ठूला महलका व्यापारीले उपभोक्तालाई ठगिरहेका छन् । १ हजार पर्ने जुत्ता र सर्टको २५ सय रुपैयाँसम्म लिने गरेका छन् ।
सरकारले प्रभावकारी अनुगमन नगर्दा व्यापारीले मनलाग्दी मूल्य लिएका हुन् । न्युरोडका व्यापारीदेखि असन, विशाल बजार, बानेश्वरलगायतका व्यापारीले १ हजार पर्ने सामानको ३ हजार रुपैयाँसम्म लिन थालेका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘सरकार कमजोर हुँदा व्यापारीले मनलाग्दी मूल्य राखेर उपभोक्तालाई ठगिरहेको छ । अनुगमनकर्तामाथि समेत व्यापारीले अराजकता देखाएका छन् । व्यापारीले अनुगमनकर्तामाथि दुव्र्यवहार गर्नु भनेको उपभोक्तालाई ठग्न पाउनुपर्छ भन्ने हो ।’
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले व्यापारीले ब्रान्डका नाममा ३ गुणासम्म बढाएर उपभोक्ता ठगिरहेको बताए । चितवन घर भई हाल अनामनगर बस्दै आएकी ३५ वर्षीय सुनिता शर्मा भन्छिन्, ‘असनमा जति भीड छ, बजार पनि यस्तै महँगीको उचाइमा पुगेको छ ।’
राजधानी दैनिकले कौशिला कुँवरको बाइलाइनमा यो समाचार प्रकाशित गरेको छ ।