हेटौँडा पुगेका रवि लामिछाने अस्मिताका कानुन व्यवसायीका कारण समस्यामा !
वीरगंज संजाल
९ आश्विन २०७६, बिहीबार १८:४५
५३५७
हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतको आदेशविरुद्ध चर्चित सञ्चारकर्मी रवि लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा आज हुने भनिएको सुनुवाइ फेरि पनि स्थगित भएको छ ।
बिहीबार उच्च अदालत पाटनको‚ हेटौँडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासमा परेको सुनुवाइ रुकु भन्ने अस्मिता कार्कीका कानुन व्यवसायीका कारण स्थगित भएको हो ।
कार्कीका कानुन व्यवसायी रामकृष्ण देउलाको निवेदनका कारण सुनुवाइ स्थगित भएको उच्च अदालत पाटनको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरेले जानकारी दिए ।
http://notesnepal.com/archives/103
यसअघि लामिछाने र पत्रकार युवराज कंडेलका कानुन व्यवसायीले दुई पटक निवेदन दिएर सुनुवाइ स्थगित भएको थियो । कानुनी हिसाबले हेर्दा एक पक्षको तर्फबाट जम्मा दुई पटक सुनुवाइ स्थगित गर्न पाइने व्यवस्था छ । लामिछानेको तर्फबाट दुई पटक नै सुनुवाइ स्थगित गरिएको छ ।
सुनुवाइ हुने आशामा हेटौँडा पुगेका लामिछाने फेरि पनि निराश भएर फर्किएका छन् । चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका सञ्चारकर्मी लामिछाने र पत्रकार कंडेल आफूहरु साधारण तारिखमा रिहा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत पाटनको‚ हेटौँडा इजलासमा पुगेका थिए ।
त्यस्तै‚ धरौटीमा रिहा भएका लामिछाने र कंडेल तथा साधारण तारेखमा रिहा भएकी रुकु भनिने अस्मिता कार्कीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले अर्को निवेदन दिएको थियो ।
पत्रकार पुडासैनीलाई आत्महत्याको दुरुत्साहन आरोप लागेका लामिछाने पाँच लाख रुपैयाँ र कंडेललाई तीन लाख रुपैयाँ धरौटीमा चितवन जिल्ला अदालतले भदौ ९ गते रिहा गरेको थियो ।
यसअघि लामिछाने र कंडेलको निवेदनमा सुनुवाइ गर्दै पाटन उच्च अदालतको हेटौँडा इजलाशले चितवन जिल्ला अदालतबाट सक्कल फाइल मगाउने आदेश जारी गरेको थियो ।निवेदनको प्रारम्भिक सुनुवाइको क्रममा मगाइएको प्रतिवेदन उच्च अदालत हेटौँडामा पुगेको छ ।