डोल्पाका गुम्बामा चोरी भयावह, बहुमूल्य सामग्री स्थानीयको घरमा
वीरगंज संजाल
८ आश्विन २०७६, बुधबार ०९:२६
४४१३
काठमाडौं । माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन् ।
१४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन् । विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ। कार्यक्रम सकिएपछि फेरि घरमै फर्काइन्छ ।
सोही गाउँपालिकाको सेरिङ गुम्बाको बहुमूल्य बुद्धमूर्ति र अन्य धातु पनि गाउँलेले घरमा राखेका छन् । गुम्बा सुरक्षाका लागि प्रहरी प्रशासनलाई बारम्बार ताकेता गर्दा चासो नदिएपछि ती सामग्री घरमा राख्नुपरेको स्थानीयको गुनासो छ ।
बहुमूल्य सामग्री चोरी हुने आशंकामा घरमा लगेर राखिएका यी दुई गुम्बा उदाहरण मात्र हुन् । यहाँका अधिकांश गुम्बाका सामग्री चोरी भइसकेका छन् ।
बाँकी सामग्री पनि हराएर गुम्बा रित्तिने अवस्था आएपछि घरमा राखिएको डोल्पोबुद्धकै स्थानीय बासिन्दा तथा गुम्बाका अध्यता ङ्वाङ लुम्डुप गुरुङले बताए ।
उनका अनुसार मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका सामग्री पनि व्यक्तिका घरमा राखिएका छन् । पछिल्लो समय डोल्पाका बौद्ध गुम्बाका सामग्री चोरी हुने क्रम बढेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा सूर्यप्रसाद पाण्डेले यो समाचार लेखेका छन् ।