काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ललितपुर जिल्ला इन्चार्ज नविन विश्वकमालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई सोमबार साँझ ५ बजे ललितपुरको महालक्ष्मी नगरपालिका ३ स्थित बोझेपोखरीबाट पक्राउ गरेको हो ।
विश्वकर्माको साथबाट प्रहरीले प्र.३–०२–००३ प.५१३१ नं.को कालो रङ्गको पल्सर मोटरसाईकल, नेकपा विप्लव समूहसँग सम्बन्धित पुस्तक, डायरी र केही मोबाइलसहित सिमकार्डहरु समेत बरामद गरिएको जनाएको छ । पक्राउ गरिएको भोलिपल्ट मंगलबार विश्वकर्मालाई जिल्ला अदालत ललिलतपुरमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ । हितमान उपनाम गरेका विश्वकर्मा कालिकोट साबिक कोटवाडा गा.बि.स.७ (परिवर्तित नाम) नरहरिनाथ गापा.वडा नं.१ का स्थायी बासिन्दा हुन् ।
उनलाई २०७५ साल फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको आरोपमा फरार सूचीमा राखेको थियो । सो घटनाको नेतृत्व गरेको आरोपमा विप्लव समूहका नेता हेमन्तप्रकाश ओली लगायतका केही कार्यकताहरु यसअघिनै पक्राउ परिसकेका छन् । बम विष्फोटमा परेर ४९ वर्षीय सिंहबहादुर गुरुङ्गको मृत्यु भएको र २६ वषीय प्रतिक्षा शर्मा (खड्का), र २५ वर्षीया उरुषा मानन्धर घाइते भएका थिए ।