लागूऔषध धन्दामा विदेशी : तीन वर्षमा ४२६ जना पक्राउ
वीरगंज संजाल
६ आश्विन २०७६, सोमबार ०८:५७
४१५५
काठमाडौं : मुलुकमा पछिल्लो समय एकपछि अर्को गर्दै आपराधिक क्रियाकलापमा विदेशीको संलग्नता बढ्दै गइरहेका बेला लागूऔषध कारोबारमा पनि विदेशीहरू उल्लेख्य रूपमा संलग्न हुने गरेको पाइएको छ ।
नेपाल प्रहरीको पछिल्ला तीन वर्षे तथ्यांकले नेपालमा विदेशी लागूऔषध कारोबारीको सक्रियतासँगै कारोबार बढेको देखाएको हो । प्रहरीको आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ सम्मको तथ्यांकले तीन वर्षको अवधिमा ४ सय २६ जना विदेशी नागरिक लागूऔषध कारोबार क्रममा पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा १ सय १२ जना पुरुष तथा ६ जना महिला गरी १ सय १८ जना विदेशी नागरिक लागूऔषध कारोबारमा पक्राउ परेका छन् । यसैगरी, आव २०७३/७४ मा १ सय ४६ जना पुरुष तथा १३ जना महिला गरी १ सय ५९ जना विदेशी नागरिक लागूऔषध कारोबारको शीर्षकमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको हो ।
त्यस्तै, आव २०७४/७५ मा १ सय ३९ जना पुरुष र १० जना महिला गरी १ सय ४९ जना विदेशी नागरिक लागूऔषध कारोबारमा पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले विदेशबाट लागूऔषध ल्याउने र यहाँबाट अन्यत्र लैजान नेपाली भूमि प्रयोग गर्ने गरिएको पाइएको बताए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।