काठमाडौं । नेपालीहरूको महानचाड दसैं, तिहार, नेपाल संवत् र छठको शान्ति सुरक्षाका लागि काठमाडौं उपत्यकालाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ ।
चाडवाडको बेला घरकोठाको झ्याल–ढोका बलियो पारि बाहिर निष्कँदा सुरक्षित हुन्छ भन्ने सन्देश फैलाउँदै आएको प्रहरीले यस पटक भने पुरानो सन्देशमा परिवर्तन ल्याएको छ ।
महानगरीय प्रहरीले अब झ्यालढोका बलियो गरी लगाएर मात्र हँुदैन नजिकको प्रहरी तथा विश्वासिलो छरछिमेकीलाई समेत साक्षी राखेर बाहिर निष्कन आग्रह गरेको छ । कोही नभएको घरकोठामा चोरी बढेपछि यस्तो सन्देश दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले भने, ‘चोरी, डकैती र लुटपाटका घटनामा परिवर्तन आएकाले यस्तो सन्देश बाँडेका हौंं । शङ्का लागेमा नजिकको प्रहरी तथा १०० मा फोन गर्नुहोला ।’
सो योजना अनुसार, अपराध नियन्त्रण गर्नेदेखि ट्राफिक व्यवस्थापनसम्म रहेका छन् । उपत्यकाका तीनवटै प्रहरी परिसरहरू काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत सुरक्षाकर्मीहरू गरी करिब १० हजार प्रहरी परिचालन हुने छन् ।
अपराध महाशाखाका प्रमुख सहकुल थापाका अनुसार, चाडवाडमा नगदका अतिरिक्त गरगहना तथा सवारी साधन चोरी अपराधका घटना बढी हुने भएकाले यसको नियन्त्रणका लागि छुट्टै तर विशेष किसिमको सुरक्षा रणनीति अपनाइएकोे छ ।