ठाकुररामको स्टोरको ताला खुल्यो, माग यथावत छन् –सभापति मनोज साह
वीरगंज संजाल
२७ भाद्र २०७६, शुक्रबार २२:५८
२९६१
वीरगञ्ज | नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाइले स्टोर शाखामा लगाएको ताला खोलिदिएको छ । अहिले स्नातक तहको भर्ना खुलेकाले विद्यार्थीको सहजतालाई ध्यानमा राख्दै ताला खोलिएको इकाइ सभापति मनोज साहले बताए ।
ठाकुरराम क्याम्पसका चार वर्षे बीएडअन्तर्गत तेस्रो र चौथो वर्षको प्रयोगात्मक परीक्षाका लागि क्याम्पसले विद्यार्थीसँग प्रतिविषय १५०० रुपैयाँ लिएको विरोधमा नेविसंघको इकाइले यसअसघ क्याम्पस प्रमुख र स्टोरमा ताला लगाएको थियो । सभापति साहको नेतृत्वमा विद्यार्थी नेताहरुले क्याम्पस प्रमुख प्रमोद कुशवाहलाई ज्ञापनपत्र बुझाएर स्टोरमा लागेको ताला खोलिएको बताएका छन् ।
स्नातकमा भर्ना हुन आउने विद्यार्थीलाई पर्न जाने असजहतालाई ध्यानमा राखी ताला खोलिए पनि आफ्ना माग भने यथावत रहेको उनीहरुले बताए । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला भने खोलेका छैनन् ।
शिक्षा संकायतर्फ सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा शुक्रबारदेखि ताला लगाइदिएका छन् । यसअघि त्यहाँ ताला लगाइएको थिएन । शिक्षातर्फको प्रयोगात्मक परीक्षाको नाममा शुल्क लिन नपाइने र लिइएको शुल्क फिर्ता हुनुपर्ने माग नेविसंघको छ ।
अन्य कुनै पनि क्याम्पसमा यसरी शुल्क नलिइएको सभापति साहले बताए । विद्यार्थीका माग पूरा नभएर कडा आन्दोलनमा उत्रिने चेतावनी उनले दिए ।