ओली र मोदीले स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै
वीरगंज संजाल
२४ भाद्र २०७६, मंगलवार १०:२७
७२८५
काठमाडौं । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले पाइपलाइनको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । दिउसो १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय काठमाडौं र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
“भारतीय प्रधानमन्त्री मोदीले सेन्डिङ बटम र काठमाडौंमा प्रधानमन्त्री ओलीले रिसिभ बटम थिच्नुहुनेछ,” निगम स्रोतले भन्यो, “पाइपलाइनमा डिजेल तयारी अवस्थामा राखिएको हुँदा बटम थिच्नासाथ डिजेल आउन सुरु गर्छ ।”
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई दिएको जानकारीअनुसार सम्पूर्ण तयारी पूरा भएको छ ।
“पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको छ,” प्रवक्ता गोइतले भने, “नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले इलेक्ट्रिक स्वीच थिची उद्घाटन गरेपछि तत्काल पाइपमार्फत डिजेल आउन सुरु हुनेछ ।”
उक्त उद्घाटनको दृष्य नेपाल आयल निगमको अमलेखगञ्ज डिपो र भारतीय आयल निगम कर्पोरेशनको मोतिहारी डिपोबाट प्रत्यक्षरुपमा हेर्नसक्ने व्यवस्था स्क्रिनमा गरिएको छ । उद्घाटनपछि तत्काल बरौनी डिपोबाट डिजेल आउनेछ । विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण भएको हो ।
सुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ । पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ ।
नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको संयुक्तलागत करिब रु ७५ करोड लगानी रहेको छ । त्यसमा भारत सरकारको रु चार अर्ब ४० करोडको आर्थिक सहयोगमा निर्माण भएको पाइपलाइनको कूल लम्बाई ६९.२ किलोमिटर रहेको र पाइपलाइन भारततर्फ ३३.२ किलोमिटर तथा नेपालतर्फ ३६ किलोमिटर लम्बाई रहेको छ ।
पाइपलाइनबाट प्रतिघण्टा दुई सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आउने छ । नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ ।
पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक रु दुई अर्ब बचत हुने बताइएको छ । अहिले डिजेलमात्रै ल्याइने भएको छ । पेट्रोल र मट्टीतेलका लागि भण्डारणस्थल बन्न समय लाग्ने भएकाले अहिले डिजेल मात्रै ल्याउन लागिएको हो ।
भारतीय प्रधानमन्त्रीको कार्यालयले भन्यो– पाइपलाइन नेपाल–भारत निकट सम्बन्धको प्रतीक
भारतीय प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीमापार पेट्रोलियम उत्पादन पाइपलाइनको उद्घाटन कार्यक्रममा भिडियो कन्फेरेन्समार्फत सामेल हुने जनाएको छ ।
भारतको प्रधानमन्त्री कार्यालयले ट्विट गर्दै मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एशियाकै पहिलो सीमापार पाइपलाइन भएको समेत जनाएको छ । यो पाइपलाइन दुई देशबीचको निकट सम्बन्धको प्रतीक भएकोसमेत भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसले यो क्षेत्रमा उर्जा सुरक्षाका लागि मद्यत गर्ने जनाउँदै यसले ढुवानी खर्च समेत कम गर्ने जनाएको छ ।