वीरगंज । कर्णाली नदीमा जिप खस्दा हाम फालेर ज्यान जोगाएका जनकपुरका चालकको मृत्यु भएको छ । सोमबार बिहान हुम्लाको नाम्खा गाउँपालिका–२, च्याछरा भिरमा कर्णाली नदीमा खसेको जिपबाट हाम फालेर ज्यान जोगाएका जनकपुरका २५ वर्षीय राजेश लामाको मृत्यु भएको हो ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार गम्भीर घाइते लामाको थप उपचारका लागि हेलिकोप्टरमार्फत् उद्दार गर्ने तयारी भइरहेको थियो । हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश ३- २२२६ नम्बरको जिप च्याछरास्थित कर्णाली नदीमा खसेको थियो ।
चालकसहित १३ जना सवार जिप च्याछहरा भिरमा उकालो चढ्दै गरेको अवस्थामा एक्कासी कर्णाली नदीमा खसेको थियो । उकालो भएका कारण अन्य १२ जना यात्रुहरूलाई ओरालेर लामा आफू एक्लैले जिप लगेर गएका थिए ।